काठमाडौं, बैशाख ३०। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सरकारका नाममा रुलिङ गरेका छन् । सांसदहरुले नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गरेर उद्घाटन समेत गरेको सन्दर्भमा लगातार आवाज उठाएपछि सभामुख सापकोटाले सरकारको ध्यानाकर्षण गराउँदै रुलिङ गरेका हुन्।
मंगलबार बैठकको शून्य समयमा सत्ता र विपक्षी दलका सांसदहरुले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतले मानसरोवर जाने सडक बनाउनु देशको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामाथि कै अतिक्रमण भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।
सांसदहरुले यो राष्ट्रियतामाथि भारतको नांगो आक्रमण भएको तर सरकार भने वक्तव्यवाजीमा सीमित रहेको भन्दै सरकारको आलोचना गरेका थिए। नेपाली भूमिको रक्षा गर्न सार्थक कूटनीतिक पहलका लागि उनीहरुले सरकारलाई भनेका थिए।
शून्य समयमा सांसदहरुले बोलिसकेपछि सभामुख सापकोटाले तीन दिनदेखि सांसदहरुले शून्य समयमा उठाएका विषय बहुआयामिक महत्वका भएकाले यस्ता गम्भीर विषयमा सरकारको ध्यानाकर्षण गराउँछु भनेका हुन्।