काडमाडौं, बैशाख ३० । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा नेपाल टेलिकमको आय अघिल्लो वर्षको तुलनामा घटेको छ। आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमाससम्म कम्पनीको आय ६७ करोडले कम भएको हो।
टेलिकमको वित्तीय विवरणअनुसार गत आवको तेस्रो त्रैमाससम्मको कुल सेवा वापतको आय २७ अर्ब ५० करोड ६० लाख ७५ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिसम्मको कुल सेवा वापतको आय २६ अर्ब ८३ करोड ६६ लाख ४५ हजार रुपैयाँ कायम भएको छ।
चैत्र १ देखि कम्पनीले रिचार्ज कार्डको बिक्रीमा कमिसनको सट्टा डिस्काउन्ट गणना गर्न सुरु गरेका कारण सेवा वापत्को आय घटेको टेलिकमले जनाएको छ। कुल बिक्री हिसाब गरिसकेपछि मात्र कमिसन प्रदान गरिने तर बिक्री अघि डिस्काउन्ट प्रदान गरिने हुँदा डिस्काउन्टका कारणले पनि सेवा वापतको आय घटेको टेलिकमले जनाएको छ। चालु आवको तेस्रो त्रैमाससम्म उक्त डिस्काउन्ट रकम कुल ८५ करोड ३३ लाख ४४ हजार रुपैयाँ रहेको छ।
चालु आवको तेस्रो त्रैमासक सम्मको कुल आयमा माथि उल्लेखित डिस्काउन्ट पनि सम्मिलित गर्दा कुल आय गत आवको सोही अवधिको तुलनामा करिब १८ करोड रुपैयाँले बढी हुने टेलिकमको दाबी छ।
त्यसका अतिरिक्त कोरोना भाइरसको महामारी नियन्त्रणका लागि चैत्र ११ देखि घोषणा गरिएको लकडाउनका कारणले चैत्र महिनाको टेलिकमको राजस्वमा नकारात्मक असर परेको बताइएको छ। लकडाउनको अवधिमा चैत्र २०७६ भित्र कम्पनीले टपअपमा प्रदान गरेको शतप्रतिशत बोनस रकम कुल ५३.४ करोड रुपैयाँ बराबरको छ।
सोही अवधिमा टेलिकमले शून्य ब्यालेन्स भएका मोबाइल प्रयोगकर्तालाई ५.३ करोड बराबरको जिरो ब्यालेन्स प्याकेज प्रदान गरेको छ। त्यसैगरी मोबाइल सेवाको आधारभूत दरमा २७ देखि ३० प्रतिशतसम्म छुट प्रदान गरिएको छ। यस्तो रकम ८.२ करोड रुपैयाँको छ।
यसरी लकडाउनको कारण कम्पनीको आयमा कुल ६६.९ करोड बराबरको नकारात्मक असर परेको छ। यसबाहेक कम्पनीले कोरोना राहत कोषमा १० करोड योगदान पनि गरेको जनाएको छ।
यसबाहेक विदेशी विनिमय दरमा भएको वृद्धि तथा बाह्य स्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, फोरजी विस्तारसँगै घरभाडा, बिजुली आदिको खर्चमा भएको वृद्धि, नेटवर्क तथा सेवा विस्तारको क्रममा टिम परिचालनका लागि लाग्ने खर्च वृद्धि आदिका कारण पनि व्ययभार बढ्न गई मुनाफामा असर परेको टेलिकमको दाबी छ।