काठमाडौं, बैशाख ३० । मंगलबारको तथ्यांक अनुसार देशभर कोरोना भाइरसको ७८ हजार ५ सय ९१ परीक्षण गरिएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार सो संख्या आरडीटी र पीसीआर दुबै मार्फत गरिएको परीक्षणको रहेको छ।
त्यस्तै प्रवक्ता डा. देवकोटाका अनुसार देशभर १८ हजार ९ सय ६४ पीसीआर परीक्षण गरिएको छ। भने ५९ हजार ६ सय २७ आरडीटि परीक्षण गरिएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार २ सय २७ नमुना परीक्षण गरिएको छ।
देशभर क्वारेन्टाइनमा रहेकाको संख्या १२ हजार ७ सय ८५ रहेको छ भने आइसोलेसनमा हुनेको संख्या २ सय २८ रहेको छ। जसमध्ये उपत्यकामा १ जना र उपत्यका बाहिर २ सय २७ जना रहेका छन्।
त्यस्तैगरी मंगलबारसम्म देशभर संक्रमितको संख्या १ सय ९१ पुगेको छ। मंगलबार मात्रै थप ५७ जनामा संक्रमण पुष्टि भएको छ। कूल संक्रमितमध्ये १ सय ५८ जना पुरुष र ३३ जना महिला रहेका छन्। नेपालमा पहिलो पटक गत माघ १० गते चीनबाट फर्किएका ३२ वर्षिय नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
अहिलेसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या ३३ पुगेको छ। घर फर्किएका कूल ३३ जनामध्ये ३ जनालाई पुन संक्रमण देखिएपछि अस्पतालमा भर्ना गरिएको छ।