काठमाडौं, बैशाख ३१ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ।
बिहान ११ बजे बस्ने बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रम, पार्टीभित्रको आन्तरिक विवाद तथा भारतले अतिक्रमण गरेको नेपाली भूमिबारे छलफल हुनेछन्।
यसअघि २५ गते स्थायी कमिटी बैठक डाक्ने निर्णय भएपछि बैशाख २४ बसेको सचिवालय बैठकमा एजेण्डा तय हुन नसकेपछि बैठक अनिश्चित बनेको थियो।
बैशाख २४ उक्त बैठकमा स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने एजेण्डाका विषयमा शीर्ष नेताहरुसँग चर्काचर्की भएपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली बैठक नै छाडेर हिडेका थिए।
यसअघि सरकारको कार्यशैलीप्रति असन्तुष्ट स्थायी कमिटीका २० सदस्यहरुले अध्यक्षद्वय ओली र प्रचण्डलाई पत्र लेखेरै स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए।