बैशाख ३१ । पोर्चुगलको शीर्ष डिभिजनको लिग फुटबल प्रिमिरा लिग जुन ४ बाट सुरु हुने भएको छ।
कोरोना भाईरसका कारण अबरुद्ध बनेको लिग जुन ४ बाट सुरु हुने घोषणा गरिएको हो। पोर्चुगलको शीर्ष डिभिजनको लिग मार्च १२ बाट अनिश्चित समयका लागि स्थगित भएको थियो।
पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले गत महिना लिग फुटबल बन्द रंगशालामा खेलाउन अनुमती दिएका थिए। उनले मे ३० पछि लिग फुटबल सुरु गर्न आग्रह गरेका थिए।
सरकारको अनुमतीसंगै जुन ४ बाट पोर्चुगलको शीर्ष डिभिजनको लिग सुरु गर्ने घोषणा गरिएको हो। पोर्चुगलको लिग कमिटिले २५ औ चरणको खेलहरु जुन ४ मा सुरु हुने बताएको हो।
‘पछिल्ला केही दिनमा विभिन्न सरोकारवालासंग बैठक गरिएको छ। सुरक्षित रुपमा यसलाई सुरु गर्न र जोखिमलाई कम गर्न सबै सुरक्षाका उपाय अपनाउने बिषयमा निर्णय भएको छ।’ जारी बिज्ञप्तीमा भनिएको छ।
‘खेल मैदानको कडाईका साथ निरिक्षण गरिनेछ। र खेल सम्बद्ध सबै अधिकारीको मेडिकल परिक्षण गर्ने सुनिश्चित गरिन्छ। जुन ४ बाट २५ औ चरणको पहिलो खेल निश्चित गरिएको छ।’ बिज्ञप्तीमा उल्लेख छ।
बेन्फिकालाई पछाडी पार्दै पोर्तो लिग तालिकाको शीर्ष स्थानमा छ। सबै क्लबले समान १० खेल खेल्न बाँकी छ। कोरोनाका कारण पोर्चुगलमा २८ हजार मानिस संक्रमित भएका थिए। जसमा १ हजार १ सय मानिसले ज्यान गुमाएका थिए।
यस्तै, पोर्चुगलसंगै स्पेनिस ला लिगा समेत जुन १२ बाट सुरु गर्ने तयारी छ। ला लिगाका अध्यक्ष जाभिर ताबासले लिग फुटबल चाँडै सुरु गर्ने बिषयमा गृहकार्य भईरहेको बताएका छन्।
युरोपका अधिकांश अबरुद्ध लिग सुरु गर्न गृहकार्य भईरहेको छ। बुन्डेशलिगा यसै हप्ता सुरु हुदैछ भने बेलायत सरकारले समेत फुटबल सुरु गर्ने संकेत गरेको छ। एजेन्सी