बैशाख ३१ । तपाईँमा चुरोट, बिँडी, तमाखु या गाँजाजस्ता धूमपान सेवन गर्ने आदत छ, यदी छ भने छोडिहाल्नुस्। किनकी सामान्य मानिसमा भन्दा धूमपान सेवन गर्ने मानिसमा कोरोना संक्रमण जोखिम दोब्बर रहने हालै गरिएको अनुसन्धानले देखाएको छ।
अहिले धूमपान गरिरहेकामा मात्रै होइन, यसअघि यस्तो लत भएका र छुटाएकाहरु पनि कोरोना संक्रमणको उच्च जोखिममा छ। त्यसैले यतिखेर धूमपानका पूर्व सेवनकर्ताहरु र अहिले पनि चुरोट, बिँडी छाड्न नसकेकाहरुलाई कोरोनाले बढार्न सक्छ। यतिमात्र होइन, ई–सिगरेट सेवनकर्ताहरु पनि कोरोनाको उच्च जोखिममा रहेको क्यालिफोर्निया विश्वविद्यालयले गरेको अध्ययनबाट पुष्टि भएको छ।
धूमपान गर्नेहरुमा कोरोना संक्रमणको दर नगर्नेहरुमा भन्दा ज्यादै धेरै रहेको अध्ययनले देखाएको छ। अनुसन्धानमा संलग्न प्राध्यापक सान्तोन ग्लान्ट्जले भनेका छन्, ‘धूमपान गर्नेहरुमा कोरोना संक्रमणको जोखिम अधिक छ।’ विश्वविद्यालयले मेटा विश्लेषणका क्रममा गरेकोे समीक्षामा चीन, दक्षिण कोरिया र अमेरिकाको संक्रमण प्रवृत्तिलाई केलाएको थियो। संक्रमितमध्ये धूमपान गर्ने ३० प्रतिशतमा कोरोनाका धेरै लक्षणहरु देखिएको छ। जबकि धूमपान नगर्ने १७.६ प्रतिशतमा संक्रमणका कम लक्षण देखिएका छन्।
निकोटिन एन्ड टोबाको रिसर्च जर्नलमा प्राध्यापक ग्लान्ट्जले लेखेका छन्, मेटा विश्लेषणले धूमपान गर्नेहरुमा कोरोना संक्रमणको फैलावट उच्च देखिएको छ। एजेन्सी