चितवन, बैशाख ३१ । सीमा विवादको विषयलाई लिएर मंगलबारदेखि आन्दोलन गर्दै आएको समाजवादी विद्यार्थी युनियनले बुधबारदेखि हुने आन्दोलनका सबै कार्यक्रम स्थगित भएको जनाएको छ।
मंगलबार प्लेकार्डसहित मौन प्रदर्शन गरे पनि सोही दिन नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै हालको लागि आन्दोलनका कार्यक्रम स्थगित गरिएको युनियनले बुधबार विज्ञप्तीमार्फत जानकारी गराएको हो।
‘केन्द्रीय समितिको निर्णयानुसार चितवन जिल्लामा हुने कार्यक्रमलाई पनि स्थगित गरिएको हो,’ चितवन जिल्लाका अध्यक्ष अनुज जोशीले भने। युनियनले मंगलबारदेखि जेठ २ गतेसम्मका लागि चरणवद्ध आन्दोलन गर्ने बताउँदै आएको थियो। सोहीअनुसार मंगलबार पनि आन्दोलन गरेको थियो।