जेष्ठ १ । कोरोना भाइरस महामारीका कारण अमेरिकाको सिलिकन भ्यालीका ठूला कम्पनीहरुले यो वर्षभरी नै आफ्ना कर्मचारीहरुलाई घरबाटै काम गर्न पाउने व्यवस्था गरिरहेको बेला दिग्गज कम्पनी एप्पलले चाहिँ फरक नीति अबलम्बन गर्दैछ।
समाचार अनुसार एप्पलले आफ्ना कर्मचारीहरुलाई आगामी गृष्मयामबाट कार्यालयमा उपस्थित भई काम गर्नुपर्ने व्यवस्थाको तयारी गरिरहेको छ।
ब्लुम्बर्गमा प्रकाशित रिपोर्ट अनुसार एप्पलले आफ्ना कार्यालयहरु चरणबद्ध रुपमा खोल्ने योजना बनाएको छ।
उक्त चरणबद्ध प्रक्रियाको सुरुआतका रुपमा विश्वका कतिपय क्षेत्रहरुका एप्पल कार्यालय खुलिसकेका छन्। एप्पलको यो योजनामा कार्यालय बाहिर बसेर काम गर्न असहज हुने अर्थात् काम गर्नका लागि कार्यालय जानैपर्ने बाध्यता रहेका कर्मचारीहरुलाई केन्द्रित गरिनेछ। आगामी जुलाइदेखि चाहिँ कार्यालयहरु अझै वृहत रुपमा खुल्ला गर्ने एप्पलको योजना छ।
कोरोना भाइरस पश्चात् सामान्य जीवनमा कसरी फर्किने भनेर विश्वका सरकार तथा कम्पनीहरु योजना तय गर्ने मामिलामा बिलखबन्दमा परिरहेका बेला एप्पलले यो तयारीलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ।
स्मरण रहोस् गुगल तथा फेसबुकले सन् २०२० भरी नै आफ्ना कर्मचारीहरुले घरबाटै काम गर्नसक्ने घोषणा गरिसकेका छन्। उता ट्विटरले चाहिँ आफ्ना केही कर्मचारीहरुले स्थायी रुपमै घरबाट काम गर्नसक्ने बताएको छ। एजेन्सी