चितवन, जेठ १ । विश्वमै फैलिरहेको कोरोना भाइरसको जोखिमलाई हेरेर चितवनको कालिका मिडियाले आफ्ना कर्मचारीलाई कोरोना भाइरस (कोभिड–१९)को बीमा गरिदिएको छ। कालिका मिडियामा कार्यरत ३२ जना कर्मचारीलाई एक वर्षको लागि बीमा गरिदिएको कालिका मिडियाका निर्देशक दीपक पौडेलले जानकारी दिए। कर्मचारीको बीमा गरिदिएपछि आफ्ना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिएमा बीमा रकम पाउनेछन्।
कोरोना भाइरसको जोखिममा स्वास्थ्यकर्मीपछि सबैभन्दा अग्रभागमा रहेर काम गर्नुपर्ने हुँदा सञ्चारगृहमा कार्यरत कर्मचारीलाई थोरै सुविधा दिने गरी बीमा गराइदिएको उनले बताए। ‘यस्तो बेलामा काम गराएपछि कर्मचारीको जिम्मा पनि सम्बन्धित संस्थाले नै लिनुपर्छ,’ उनले भने, ‘सोहीअनुसार हामीले कर्मचारीको लागि बीमा गरेका हौँ।’ कालिका मिडियाले अजोड इन्स्योरेन्स लिमिटेड कम्पनीबाट कर्मचारीको बीमा गरिदिएको हो। कालिका मिडियाले स्थापनाकालदेखि नै देशमा आइरहने विभिन्न खालका विपद तथा जोखिमको समयमा कर्मचारीको सुरक्षामा विशेष ध्यान दिँदै आएको उनले दाबी गरे।
कालिका मिडियाले हालसम्ममा चार चारवटा सञ्चारमाध्यममार्फत जनतालाई सूचना तथा मनोरञ्जन प्रदान गर्दै आइरहेको छ। स्थापनाकालमा कालिका एफएम ९५.२ मात्रै प्रशारणमा रहे पनि प्रशारणकाे करिब दुई दशक नजिक आइपुग्दा कालिका ९१ मेगाहर्ज र टिभी कालिका एचडी र कालिका न्युज डटकम सञ्चालनमा छन्।