चितवन, जेठ १ । नेपाल यतिबेला कोरोना भाइरस र छिमेकीको हेपाह प्रवृत्तिको चेपुवामा परेको छ। जसकारण आफ्नो स्वास्थ्यलाई समेत जोखिममा राखेर लकडाउनको समयमा समेत नेपाली नागरिक स्वतस्फूर्त रूपमा सडकमा निस्किएका छन्, लिपुलेक–कालापानी–लिम्पियाधुरा हाम्रो हो भनेर। भारतले वर्षौँदेखि अतिक्रमण गर्दै आएको यी क्षेत्रलाई तत्काल फिर्ता गर्नुपर्ने भन्दै राष्ट्रिय पुनर्जागरण अभियान नेपालले बिहीबार नारायणगढमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको छ। ‘लिपुलेक–लिम्पियाधुरा नेपालको हो’, ‘सीमा अतिक्रमण बन्द गर’, ‘सिमानामा सेना तैनाथ गर’लगायतका नारासहितको प्लेकार्ड बोकेर प्रदर्शन गरिएको हो।
लकडाउनको समयमा सामाजिक दुरी कायम गर्दै नारायणगढको सहिदचोकबाट बेलचोकसम्म र्याली गरेर कोणसभामा परिणत भएको थियो। अभियानले चितवनबाट प्रदर्शनको कार्यक्रम सुरू गरेको जनाएको छ। अब भनेसडक संघर्षका कार्यक्रमलाई देशव्यापीरूपमा अगाडि बढाउने तयारी भइरहेको अभियानका अभियन्ताले बताएका छन्। नेपालमा लकडाउन जारी रहे पनि सीमा रक्षा र भारतले गरेकाे अतिक्रमणकाे विषयमा जनस्तरबाटै चर्काे विराेध भइरहेकाे छ।