काठमाडौं, जेष्ठ २ । साझा पार्टीले भारतसँगको सीमामा तारबार लगाउन सरकारसँग माग गरेको छ।
शुक्रबार विज्ञप्ति जारी गर्दै साझा पार्टीले नेपाल-भारत सीमाका निश्चित नाकाहरूमात्र अभिलेखीकरणको व्यवस्थासहित खुला गर्न र अन्य भागमा तारबार लगाउन माग गरेको हो।
नेपाल र भारत दुबैको हितका लागि राहदानी, नागरिकता र परिचयपत्रको साथै अन्य प्रविधिको सहयोगमा सीमा वारपारलाई नियमन गर्नुपर्ने साझाको निष्कर्ष छ।
उक्त पार्टीले सीमा विवादका विषयमा सरकारलाई भारतसँग कूटनीतिक र राजनीतिक तहमा वार्ता गर्नसमेत आग्रह गरेको छ।
साथै द्विपक्षीय वार्तामा ढिलाइ हुने अवस्था भए सीमा विवाद नभएका ठाउँमा एकतर्फी रूपमै तारबार लगाउन पहल गर्नसमेत साझाले सरकारको ध्यानाकर्षण गराएको छ।
‘भारतले कयौं ऐतिहासिक दस्तावेज तथा नक्साहरूले प्रमाणित गरेको नेपाल-भारत सीमालाई समेत बेवास्ता गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा खुल्लमखुल्ला नेपाली भूभाग अतिक्रमण गरेको छ,’ विज्ञप्ति भनिएको छ,’भारतले भर्खरै लिपुलेक भएर चीनको मानसरोवर जान खोलेको सडक त्यसैको चरम उत्कर्ष हो भन्ने साझा पार्टीको बुझाइ छ।’
भारतसँगको सीमा विवादमा प्रमुख दलहरूको संस्थागत रूपमा ध्यान नपुगेको र यस विषयमा राष्ट्रिय सहमति कायम गर्न पनि सरकारले पहल लिने साझा पार्टीको अपेक्षा छ।