काठमाडौं, जेष्ठ २ । नेपाली कांग्रेसले उद्योगपति एवं सांसद विनोद चौधरीको संयोजकत्वमा ‘लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना विशेष समिति’ गठन गरेको छ।
चौधरीको संयोजकत्वमा गठित १५ सदस्यीय विशेष समितिमा दीपक खड्का, उमेश श्रेष्ठ, इन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा घले, जिप छिरिङ लामा, छत्र गिरी, सूर्यबहादुर केसी, मोहन आचार्य, तेजुलाल चौधरी, अनिल रुङ्गटा, विष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ र खगेश्वर बोहरा सदस्य छन्।
यसअघिको केन्द्रीय समितिको बैठकले कोरोनाले देशका विभिन्न क्षेत्रमा परेको असर अध्ययन गरी त्यसका लागि आवश्यक कार्य गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा सभापति देउवाले ‘लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना विशेष समिति’ गठन गरेका हुन्।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेसले पार्टीनिकट विभिन्न क्षेत्रका लगानीकर्ता र रोजगारदातालाई समेटेर समिति गठन गरेको हो। समितिलाई पार्टीको ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’लाई सुझाब दिन निर्देशन दिइएको छ।
समितिलाई दीर्घकालीन रूपमा लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा दूरगामी दृष्टिकोणका साथ दिगो परियोजनाको परिकल्पना र कार्यान्वयनमा भूमिका निर्वाह गर्न जिम्मा दिइएको छ।
उक्त समितिलाई आवश्यकताअनुसार ६ जना सदस्य थप गर्न सक्ने अख्तियारी दिइएको कांग्रेसले जनाएको छ।