काठमाडौं, जेष्ठ २ । पश्चिम नेपालको लिपुलेक सीमा क्षेत्रमा नेपाल प्रहरीका दुईवटा चौकी पनि स्थापना भएका छन्। गृह मन्त्रालयका अनुसार तिंकर र नितिकुण्डमा प्रहरी चौकी बसेको छ। नायब निरीक्षक-सईको नेतृत्वमा १२ जनाको प्रहरी टोली तिङ्करमा बस्ने छ।
यसैगरी सहायक निरीक्षक-असईको नेतृत्वमा ९ जनाको प्रहरी टोली छाङरुको सितापुल सीमानजिक रहेको नितिकुण्डमा ९ जनाको टोली बस्ने गृह मन्त्रालयले जनाएको छ।
नेपाल प्रहरीका २१ मध्ये १८ जनालाई नेपाल आर्मीको हेलिकप्टरले छाङरु पुर्याएको हो। तीन जना प्रहरी भने छाङरुको छिमेकी गाउँ हुम्लिङबाट दुई दिनको बाटो हिँडेर त्यहाँ पुगेका थिए। आर्मीको हेलिकप्टरले छाङरुमा पुर्याएका २५ सशस्त्र प्रहरीको टोलीको बोर्डर आउट पोष्ट-बीओपी त्यहाँ बसिसकेको छ।
नेपालको लिपुलेकमा भारतले सडक बनाइरहेको समाचार सार्वजनिक गरेपछि गृह मन्त्रालयले त्यहाँ बीओपी स्थापना गर्नुका साथै नेपाल प्रहरीका दुईवटा युनिट पनि राखेको हो।