असार २ । कोरोना भाइरसको महामारीपछि फेरि सुरू भएको स्पेनिस ला लिगाको आफ्नो दोस्रो खेलमा आज लिग लिडर बार्सिलोना र रेलिगेसन जोनमा रहेको लेगानेसबीच प्रतिस्पर्धा हुँदैछ।
बार्सिलोनाको खेल मैदानमा नेपाली समय अनुसार मंगलबार राति पौने २ बजे सुरु हुने खेलमा लिग लिडर बार्सिलोनालाई जीत निकाल्दै दोस्रो स्थानको रियल मड्रिडसँगको अंक दूरी बढाउने मौका हुनेछ।
कोरोनाले स्थगित लिग सुचारुपछि बार्सिलोना लगातार दोस्रो जीत निकाल्ने योजनामा छ। यसअघि बार्सिलोनाले मालोर्कालाई ४-० ले हराएको थियो।
बार्सिलोना २८ खेलमा ६१ अंकसहित शीर्ष स्थानमा रहेको छ। लेगानेसलाई पराजित गरे बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडविरुद्ध ५ अंकको अग्रता बनाउनेछ।
रियलको ५९ अंक रहेको छ। लेगानेस २३ अंकसहित पुछारबाट दोस्रो स्थानमा रहेको छ। एजेन्सी