काठमाडौं, असार २ । संसदीय समितिमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव पेस भएको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा यस्तो प्रस्ताव पेस भएको हो।
बिहे गरेर आएको सात वर्षसम्मका लागि आर्थिक, सामाजिक र संस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमति पत्र दिन प्रस्ताव गरिएको छ। यस विषयमा सहमति जुट्न नसक्दा राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकतासम्बन्धी विधेयक विचाराधीन छ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा समितिकी सभापति शशी श्रेष्ठले नागरिकता विधेयक अगाडि बढाउन तयारी गरेको बुझिएको छ। केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसदमा पेस गर्ने तयारी छ।
त्यसका लागि मंगलबार डाकिएको बैठकमा सभापति श्रेष्ठ स्वयंले बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव पेस गरेकी हुन्। ७ वर्ष स्थायी रुपमा नेपालमा बसेपछि वडाको सिफारिसमा अन्य मुलुकको राष्ट्रियता खुलेको कुनै प्रमाणपत्र त्यागको प्रमाण पेस गरेपछि वैवाहिक अंगीकृत नागरिकता लिने बाटो खुल्नेछ।
हहिले नेपाल नागरिकसँग विवाह गरेपछि विदेशी महिलाले अंगीकृत नागरिकताका लागि आवेदन दिन पाउने व्यवस्था छ। नयाँ प्रस्तावबारे समितिमा छलफलपछि यो विषयले कुन मोड लिने टुंगो लाग्नेछ।