चितवन, असार २ । भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल बन्द भएको छ। विवादै विवादमा फसेर व्यवस्थापन कमजोर बनेपछि ७२ घण्टामै निर्माण गरिएको अस्पताल नै बन्द गरिएको हो।
भरतपुर अस्पतालले आज (मंगलबार) एक विज्ञप्ती जारी गर्दै कोरोना अस्पताल बन्द गरिएको जनाएको हो। अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीद्धारा जारी विज्ञप्तीमा भनिएको छ–‘हालसम्म कोरोना विशेष (अस्थायी) अस्पतालबाट शनिबार र आइतबार गरी १८ जना पोजिटिभ बिरामीहरुलाई भरतपुर अस्पतालमा स्थानान्तरण गरी उक्त कोरोना विशेष (अस्थायी) अस्पताल बन्द गरिएको छ।
गत चैतदेखि भरतपुर–१० स्थित चितवन प्रदर्शनी केन्द्रमा संचालनमा आएको सो अस्पताल सुरुदेखि नै विवादमा तानिदै आइरहेको थियो। पछिल्लो समय अस्पतालमा रहेका स्वास्थ्य उपकरणसंगै अन्य सामग्रीहरु अस्पतालकै कर्मचारीहरुले चोरी गरेको सीसीटिभी फुटेज बाहिरिएको थियो।