चितवन, असार ३ । कोरोना कहरका कारण हात्ती पाल्न असहज भएको छ। लकडाउनमा घाँस काट्न पनि नमिल्ने भएपछि सौराहाका व्यवसायीलाई बाँधेर हात्ती पाल्न गाह्रो हुन थालेको छ। सामुदायिक वनहरुमा अहिले घाँस काट्न जान रोकिएको छ।
पर्यटकीय गतिविधि बन्द भएसँगै अहिले हात्ती पाल्न कठिन भएको हो। हात्ती पाल्ने व्यवसायीले मानिसको भन्दा हात्तीको बढी चिन्ता हुन थालेको जनाएका छन्।
सौराहाका निजी हात्ती सञ्चालक एवं पर्यटन व्यवसायीले मध्यवर्ती क्षेत्र तथा सामुदयिक वनमा हात्ती चरिचरणमा रोक लगाएको भन्दै असन्तुष्टि जनाएका छन् ।
झन्डै ३ महिनादेखि भएको लकडाउनका कारण सौराहामा रहेका निजी हात्ती सञ्चालकहरूले तत्काल चरिचरण खुलाउनुपर्ने भन्दै हात्तीको जीवनरक्षाको माग गरेका हुन् । आज सौराहामा उनीहरूले पत्रकार सम्मेलन गर्दै निकुञ्जको छेउछेउमा हुँदै आएको चरिचरण बन्द गरिएकाले व्यवसायीसंँग राज्यले समन्वय नगरी चरिचरण बन्द गर्दा आफूहरू मर्कामा परेको बताएका थिए ।
पत्रकार सम्मेलनमा युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाका लि. का अध्यक्ष ऋषिराम तिवारीले भने ‘पर्यटक नआएपछि आम्दानीको स्रोत गुम्यो, आम्दानी नै नभएपछि हात्ती पाल्न समस्या भयो।’
‘हात्तीको लागि दुई तीन महिना पुग्ने परालको स्टक पनि सकियो।’ ‘धान, गहुँ किन्न सक्ने अवस्था छैन,
सडेगलेको घाँस खुवाएर बचाउने प्रयास गरिरहेका छौँ।’ अध्यक्ष तिवारीको भनाईछ।

एकातर्फ खाद्यान्नको अभाव हुँदै गएको छ भने अर्कोतर्फ हात्तीको स्वास्थ्यका लागि पनि हिँडाउनु, डुलाउनु र चराउँनु राम्रो हुने उनको भनाइ छ। निकुञ्जले घाँस काट्न र छेउछाउमा चराउने व्यवस्था मिलाइदिएमा हात्ती जोगाउन सकिने तिवारीले बताए।
चितवन घुम्न आउने पर्यटकलाई घुमाउन नीजि हात्ती मात्र प्रयोग गरिन्छ। सो निकुञ्जलाई कर तिरेर सामुदायिक वनहरुमा हात्ती सफारी गराइँदै आएको छ। सौराहामा रहेका नीजि हात्तीहरु कुमरोज सामुदायिक वन, खोरसोर मध्यवर्ती क्षेत्र, चित्रसेन सामुदायिक वन र बाघमारा सामुदायिक वनमा सफारीका लागि लैजाने गरिन्छ।
हाल सौराहामा ७० निजी हात्ती छन्।
