असार ३ । लद्दाखको पूर्वी क्षेत्रमा भारत र चीनका सेनाबिच भएको भिडन्त र त्यसमा २० भारतीय सैनिकको ज्यान गएको घटनाप्रति संयुक्त राष्ट्रसंघले चासो र चिन्ता व्यक्त गरेको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले दुवै पक्षलाई अति संयम अपनाउन आग्रह गरेका छन्। उनका प्रवक्ताले दिएको जानकारी अनुसार लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा भएको भिडन्तप्रति गुटरेसले चासो व्यक्त गर्दै भावी दिनमा अति सावधानी अपनाउन आग्रह गरेका छन्।
गुटरेसका सहायक प्रवक्ता एरी कानेकोले मंगलबार भने, ‘भारत र चीनबिचको एलएसीमा भएको भिडन्त र सैनिकको ज्यान गएको घटनाप्रति हाम्रो गम्भीर चासो छ। हामी दुवै पक्षलाई अति संयमता अपनाउन आग्रह गर्छौँ।’
पूर्वी लद्दाखको गलवान उपत्यकाको सीमा क्षेत्रमा सोमबार राति भएको भिडन्तमा भारतीय सेनाका एक कमाण्डर र १९ जवानको ज्यान गएको हो।
भारत र चीनबिच विवादित सीमा क्षेत्रलाई लिएर पछिल्लो ४५ वर्षमा पहिलोपटक मानवीय क्षति हुने गरी भिडन्त भएको हो। एजेन्सी