काठमाडौं, असार ३ । राष्ट्रियसभाको शून्य समयमा बोल्ने सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबारको बैठकमा बोल्ने सांसदहरूले क्वारेन्टाइन व्यवस्थापनदेखि विदेशमा रहेका नेपालीहरूको उद्धार निःशुल्क गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद रामनारायण बिडारीले स्वदेशमा रोजगारी नपाएपछि विदेश गएका ऊर्जावान् युवाहरू महामारीका कारण घर फर्किन चाहे पनि भाडा तिर्ने पैसा नभएकाले फर्किन नपाएको तर्फ सरकारको ध्यानाकर्षण गराए।
सरकारले रोजगारी नदिएर धकेली–धकेली युवाहरूलाई विदेश पठाए पनि रोग र भोकले ग्रस्त भएकाले उद्धार गर्न नसकेको उनले बताए। “राम्रा–राम्रा र बलिया–बलिया युवाहरू रोजगारीका लागि विदेशमा छन्। उनीहरू अहिले विदेशमा अलपत्र छन् रोग र भोकले ग्रस्त छन्। स्वदेश आउन आतुर छन् तर रकम छैन अभाव छ। भाडा तिर्ने पैसा छैन शरीर पनि जिर्ण भएको छ,” उनले भने, “नेपालमा काम नदिएका कारणले धकेली–धकेली यसपालि विदेश कति पठाउने भन्दै प्रतिस्पर्धा गर भन्दै पठाउँदै गरिएको भएर उहाँ अहिले अलपत्र परियो भन्छन्। तिनीहरूलाई कसरी ल्याउने ? पैसा नभएको मान्छे पनि त नेपाली हो र यहाँ आउनुपर्यो नि।”
उनले दुर्व्यसन र लागुऔषधले लिप्त भएर बसिरहेका युवाहरूलाई संरक्षण गरी कसरी रोकथाम गर्न सकिन्छ भन्नेतर्फ गृह मन्त्रालयको ध्यान जानुपर्ने बताए।
सांसद विमला घिमिरेले मकवानपुरको हेटौंडामा एक महिलाको ढुंगाले हानेर हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिन्। ६ महिनाअघि दुर्घटनामा पति गुमाएकी ती महिलालाई पहिलेदेखि नै घरका सदस्यले मानसिक तनाव दिँदै आएको कुराहरू बाहिर आइरहेको उल्लेख गर्दै उनले दोषीलाई कारबाहीको माग गरिन्।
सांसद शारदादेवी भट्टले कैलाली घटनाका दोषीलाई कारबाही गर्न माग गरिन्। महिलाहरू बाहिरको क्वारेन्टिनमा असुरक्षित रहेकाले आवश्यक सुरक्षा व्यवस्था मिलाएर होम क्वारेन्टिनमा राख्न उनले आग्रह गरिन्।
यस्तै सांसद विमला राई पौडेलले घरघरमा जनतालाई सेवा दिने भनेर संघीयतामा देश भए पनि स्थानीय तहमा निर्माण भएका क्वारेन्टिनहरूको अवस्था दुःख लाग्दो भएको बताइन् । उनले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा महिला मन्त्रालयको सहभागिता हुनुपर्ने माग गरिन्।
सांसद शेरबहादुर कुँवरले सुदूरपश्चिम प्रदेशमा भारतबाट ९० हजार बढी नागरिक आएको र अहिले प्रत्येक जिल्लामा १० हजारभन्दा बढी व्यक्ति क्वारेन्टिनमा रहेको बताए। हजारौँको संख्यामा क्वारेन्टिनमा रहेका व्यक्तिको परीक्षण हुन नसकेको आरडीटी पोजेटिभ देखिएका व्यक्तिको पीसीआर परीक्षण ढिलाइ भएको उनले बताए।
सांसद रमेशजंग रायमाझीले मंगलबारे अस्पतालको नाम प्रदेश सरकारले परिवर्तन गरी मदन भण्डारी राखेकोप्रति आपत्ति जनाए। स्थानीयको विरोधका बीच नाम परिवर्तन भएको उनले बताए। अस्पतालको नाम परिवर्तन नगर्न आग्रह गर्दै उनले मदन भण्डारीको नाममा अस्पताल चाहिने भए सुन्दर हरैंचा नगरपालिकामा आफूले जग्गा उपलब्ध गराउने उनले बताए।
सांसद सुमनराज प्याकुरेलले शम्भु सदाको थुनामा मृत्यु भएको घटनाको छानबिन अगाडि बढ्न नसकेकोप्रति दुःख व्यक्त गरे। प्रहरीको यातनाका कारण मृत्यु भएको भन्दै परिवारले अहिलेसम्म शव नउठाएको उल्लेख गर्दै उनले सरकारी वकिल कार्यालयबाट हिजो मुद्दा दर्ता भए पनि छानबिन सुरु नभएको बताए। उनले तत्काल छानबिन गर्न माग गरे।