हेटौँडा । नेपाली कांग्रेस वाग्मती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले संसदलाई ढाँटेको आरोप लगाएका छन्। बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता बानियाँले विनियोजन विधेयक सांसदहरुलाई उपलव्ध नगराएर आर्थिक मामिला मन्त्री ढुंगेलले संसद र सांसदलाई ढाँटेको आरोप लगाएका हुन्। बुधबारको संसद बैठकमा मन्त्री ढुंगेलले विनियोजन विधेयक–२०७७ प्रस्तुत गरे पनि सांसदहरुको हातमा नपरेको भन्दै मन्त्री ढुंगेलले झुठो बोलेर संसदको गरिमा घटाएको बताए।
संसदमा टेबुल भएको विधेयक सांसदहरुको हातमा नपर्दा सांसदहरु आक्रोशित र निरास भएको भन्दै नेता बानियाँले यस्तो प्रवृत्तिले बजेट पारित हुन नसक्ने चेतावनी दिए। ‘विनियोजन विधेयकमा मन्त्रालयगत रुपमा योजनाहरुको बाँडफाड रहेको हुन्छ,’ उनले भने, ‘त्यो पुस्तक सांसदहरुले पाएनन्।’ किताब छापिएको छ भनेर सम्मानित संसदलाई ढाँट्ने आर्थिक मामिला मन्त्रीले बजेटमा निष्पक्ष काम गरेको भनेर विश्वास गर्न नसकिने उनको भनाइ छ। नेपाली कांग्रेस मात्र नभई सत्तापक्षकै सांसदहरु समेत आक्रोशित भएको उनको भनाइ छ।
नेता बानियाँले सभामुख सानुकुमार श्रेष्ठले समेत विश्वास गुमाएको प्रतिक्रिया बताएका छन्। कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख श्रेष्ठले रातो किताब भनेर चिनिने विनियोजन विधेयकको पुस्तक आइसकेको जानकारी दिए पनि टेबलु भएपछि सांसदहरुले प्राप्त गर्न नसकेको बानियाँको भनाइ छ। यसले सभामुखप्रतिको विश्वास गुमेको उनले बताए। ‘सभामुख पनि सरकारसँगै मिल्नु भयो भन्ने सांसदहरुको गुनासो छ,’ उनले भने, ‘आजको व्यवहारले झन् यसलाई पुष्टि गरेको छ।’
अधिकांश सांसदले सरकार र सभामुखको मिलेमतोमा ‘रातो किताब’ लुकाइएको आरोप लगाएका छन्। पुस्तक अध्ययनबिना संसद बैठक अघि बढ्न नसक्ने भएपछि सभामुख श्रेष्ठले बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका छन्। संसद सचिवालय स्रोतका अनुसार किताब २ दिनपछि मात्रै आउने भएको छ।