हेटौंडा । बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। असार १ गते बजेट ल्याएको प्रदेशसभाको बैठक बजेट पास गरेपछि मात्रै स्थगित गर्नुपर्नेमा बुधबार एक्कासी स्थगित गरिएको हो। बजेटमाथिको छलफल एक दिन मात्र भएकोमा सभामुख सानुकुमार श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रम चलिरहेकै अवस्थामा अनिश्चित कालका लागि बैठक स्थिगित गरेका हुन्। ‘बैठक कहिले बोलाएर बजेट पास गर्ने भन्ने निश्चित छैन,’ एक सांसदले भने, ‘धेरै सांसदलाई बैठक किन स्थगित गरियो भन्ने कुरासमेत जानकारी गराइएको छैन।’
बजेट बाँडफाँडमा कुरा नमिल्दा सत्तापक्षकै सांसदले बजेट पास गर्न नदिने चेतावनी दिएपछि संसद बैठक स्थगित गरिएको बताइएको छ। बजेटको विषयमा सत्तारुढ दलभित्रै तीब्र विवाद भएपछि सभामुख श्रेष्ठले कार्यव्यवस्था परामर्श समितिबाट निर्णय नगरी स्थगित गरिनेबारे कुनै पूर्व जानकारी नदिई बैठक स्थगित गरेको एक सांसदले बताए। प्रदेश सभामा असार १ गते आर्थिक वर्ष ०७७÷७८ को लागि बजेट प्रस्तुत गरेको थियो। सत्तापक्षकै प्रदेशसभा सदस्यहरुले बजेटको रातो पुस्तक नपाएको र पुस्तक नपाएसम्म बजेटमाथि छलफल अगाडि नबढाउने अडान राखेपछि बैठक स्थगित गर्न सभामुख बाध्य भएको बताइएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस वागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र उपनेता कृष्णलाल भडेँलले निरन्तर बैठक सञ्चालन गरेर बजेट पास गर्ने काम अगाडि बढाउन आग्रह गरेका थिए। बजेट र केही विधेयक पारित गरिसकेपछि केही समय अन्तरमा सभा सुरु गरौँ भनेर आग्रह गरेका थिए। तर सभामुख श्रेष्ठलाई सत्तापक्षकै सभा सदस्यहरुले बजेट पुस्तकको विस्तृत अध्ययन नगरेसम्म कुनै पनि हालतमा बजेटबारे छलफल अघि नबढ्ने अडान राखेपछि श्रेष्ठले अनिश्चितकालको लागि सभा स्थगित गर्नुपरेको हो।