काठमाडौं, असार ४ । सरकारले रोपाईं हुनुअघि नै यस वर्ष धानको समर्थन मूल्य तोकेको छ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पहिलोपटक रोपाईं सुरु हुनुभन्दा पहिले नै धानको समर्थन मूल्य तोकेको हो। मध्यम धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ८ सय ८५ रुपैयाँ र मोटा धानको समर्थन मूल्य दुई हजार ७ सय ३५ रुपैयाँ निर्धारण गरिएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए।
पहिलोपटक रोपाईं हुनुभन्दा पहिले नै धानको समर्थन मूल्य तोकेपछि किसानका लागि बचत सुनिश्चित भएको मन्त्रालयले दावी गरेको छ। किसानले व्यवसायीलाई बिक्री गर्न नसके सरकारी कम्पनीले खरिद गर्ने मन्त्रालयले जनाएको छ।
आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा समेत समर्थन मूल्य तोकिएको बालीको बजारको ग्यारेन्टी गर्ने उल्लेख छ। उत्पादन गरेको बाली बिक्री नभए सरकारले खरिद गर्ने सुनिश्चित भएपछि किसानले ढुक्कका साथ उत्पादनका लागि लगानी गर्ने र त्यसले कृषि उपज उत्पादनमा समेत वृद्धि हुने मन्त्रालयको दावी छ।