चितवन, असार ४ । चितवन राष्ट्रिय निकुञ्जभित्र निजी हात्ती चराउनु ऐन विपरीत हुने भन्दै चरनका लागि रोक लगाइएको छ।
निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सौराहालगायतका पर्यटकीय क्षेत्रका निजी हात्ती चराउन पाउनुपर्ने माग आइरहेको बेला निकुञ्जले ऐन विपरीत हुने स्पष्ट पारेको हो। निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल घिमिरेका अनुसार निकुञ्ज ऐनमा अनुमतिबिना घरपालुवा जनावर र मानिस निकुञ्ज प्रवेश गर्न निषेध गरिएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेलले अहिलेको निकुञ्ज ऐनले निजी हात्तीलाई निकुञ्ज प्रवेश गर्न नदिएको बताए।
चितवन राष्ट्रिय निकुञ्ज एकसिङ्गे गैँडाका लागि उपयुक्त बासस्थान भएको भन्दै उनले घरपालुवा जनावरबाट रोग सर्न सक्ने र वन्यजन्तुको बासस्थानमा असर गर्ने भएकाले निजी हात्तीलगायतका जनावर निकुञ्ज प्रवेश गराउन नहुने बताए।