काठमाडौं, असार ४ । केही दिन यता नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दो क्रममा देखिएको छ।
बुधबार एकैदिन पाँच सय ८६ संक्रमित थपिए। विहीबार बिहान मनाङका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण ७४ जिल्लामा पुगेको छ।
अब प्रदेश एकको ओखलढुंगा, गण्डकीको मुस्ताङ र वाग्मतीको रसुवामा मात्र अहिलेसम्म संक्रमण देखिएको छैन।
स्थायी ठेगाना कपिलवस्तु बाणगंगा–१४ घर भइ मनाङ बस्दै आएका ५७ वर्षीय पुरुषमा कोरोना भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार विज्ञप्तिमार्फत जनाएको हो। उनी हालै कपिलवस्तुबाट मनाङ गएको जनाइएको छ।
१४ जिल्ला रहेको प्रदेश १ मा ओखलढुंगा मात्रै कोरोनाले नछोएको जिल्ला हो। १३ जिल्ला रहेको बागमती प्रदेशमा रसुवा मात्रै अहिलेसम्म कोरोनाबाट जोगिएको छ।
कोरोना संक्रमित नदिखिएको अर्को गण्डकी प्रदेशको मुस्ताङ हो। गण्डकी प्रदेशमा मुस्ताङबाहेक १० वटा जिल्लामा कोरोना संक्रमित फेला परेका छन्।
स्वास्थ्य मन्त्रालयको बुधबारसम्मको तथ्यांकअनुसार नेपालमा ७ हजार १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।