मोरङ, असार ४ । विराटनगरको मोरङमा बिहीबार एकैदिन ३९ जना डिस्चार्ज भएका छन्। मोरङको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको आइसोलेशन केन्द्रमा उपचार गराइरहेका १ सय १६ जनामध्ये ३९ जना डिस्चार्ज भएका हुन्।
डिस्चार्ज हुनेमा झापा, मोरङ, सुनसरी र भोजपुरका १५ देखि ४७ बर्ष उमेर समूहका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यसैबीच, प्रदेश १ मा सङ्क्रमितको संख्या ४ सय १६ पुगेको छ।
प्रदेश १ का जिल्लाहरुमा सबैभन्दा बढी झापा जिल्लामा मात्र १ सय ७९ जना सङ्क्रमित छन् भने मोरङमा सङ्क्रमितको संख्या १ सय ९२ पुगेको छ। सुनसरीमा ६४ पुगेको छ भने उदयपुरमा ४७ , धनकुटामा ८, भोजपुरमा ६, खोटाङमा ४, सोलुखुम्बुमा १, संखुवासभामा २, इलाममा २ जना र तेह्रथुममा २ जना सङ्क्रमित रहेको प्रदेश सरकारले जनाएको छ।
यसैगरी प्रदेश १ मा सङ्क्रमित थपिएसँगै निको भएर जानेको संख्या पनि बढेको छ। अहिलेसम्म डिस्चार्ज भएर फर्कनेको संख्या २ सय १६ छ।
सङ्क्रमितको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा २९ जना र आइसोलेसन सेण्टरमा ७७ जनाको उपचार भइरहेको छ। उपचार गराईरहेका सङ्क्रमितमा कुनै लक्षण देखिएको छैन भने उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन्।
नयाँ सङ्क्रमितलाई आइसोलेशन अस्पतालमा ल्याउने तयारी भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यो अस्पतालमा नयाँ सङ्क्रमित ९ जना उपचारको लागि ल्याउँदै गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।