मुम्बई, साउन ८ । फिल्मभन्दा बढी फिल्म क्षेत्रका विषयलाई लिएर आवाज उठाएका कारण चर्चामा रहने अभिनेत्री कंगना रनौतले कतिपय समयमा अभिनेता तथा अभिनेत्रीमाथि लगाएको आरोप र अनावश्यक बयान पनि दिएकी छिन्।
त्यति मात्र होइन कंगना केही सम्बन्धका कारण पनि विवादमा आइन्। कहिले कंगनाको नाम आदित्य पञ्चोलीसँग जोडियो भने कहिले सुपरस्टार ऋतिक रोशनसँग।
फिल्म उद्योगमा डेब्यु गरेपछि कंगनाको नाम करिब २० वर्ष जेठो उमेरका आदित्य पञ्चोलीसँग जोडियो। दुवै प्रायः सञ्चार माध्यममा एकसाथ देखिन थाले। तर, पाँच वर्षपछि दुवैको सम्बन्ध सकियो। तर, सम्बन्ध सकिएपछि एक अर्कालाई आरोप र प्रत्यारोप गर्न थाले। केही समय अघि मात्रै कंगनाले पञ्चोलीविरुद्ध मुद्दा दर्ता गराएकी थिइन्।
आदित्य पञ्चोलीपछि कंगनाको नाम शेखर सुमनका छोरा अध्ययन सुमनसँग जोडियो। दुवैले सम्बन्ध सकाए तर विवाद उस्तै भयो। कंगनाले अध्ययनमाथि जादुटुना गरेको आरोप लगाएकी थिइन्।
अध्ययन सुमनपछि कंगनाको नाम ऋतिक रोशनसँग जोडियो। यो सम्बन्धको अन्त्य पनि निकै ठूलो विवादसँग नै भयो। उनीहरुको सम्बन्धको विवाद अदालतसम्म पुगेको छ। उनीहरु मुद्दा लडिरहेका छन्।
यस्तै, नेपोटिज्मको विरुद्ध खरो भएर लागेको कंगनाको करण जौहरसँग पनि थुप्रैपटक विवाद भइरहन्छ। कंगनाले करणको शो ‘कफि विथ करण’ मा करणलाई विभिन्न आरोप लगाएकी थिइन्। एजेन्सी




