काठमाडौं, साउन ८ । भारतको सीमावर्ती क्षेत्रमा रहेका सलहको झुण्ड तत्कालै नेपाल आउने सम्भावना टरेको छ।
राजस्थान, उत्तर प्रदेशलगायतका ठाउँमा पानी परिरहेकाले एक दुई दिनको लागि नेपाल आउने सम्भावना नदेखिएको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले बताए।
हावाको गति तीव्र भएको र सलहको झुण्ड धेरैको संख्यामा भएकाले सम्बन्धित विज्ञको छलफलपछि किसानलाई सावधानी रहन आग्रह गरिएको तर राजस्थान आसपासको क्षेत्रमा ठूलो पानी परेकाले नेपाल छिर्न नसकेको उनको भनाइ छ।
पानी पर्न कम भएपछि भने नेपाल आउने सम्भावना कायम नै भएको उनले जानकारी दिए। अहिले सलहको झुण्ड राजस्थान र उत्तरप्रदेशमा छ। सीमावर्ती क्षेत्रमै भएकाले किसानलाई चनाखो भने भइरहन र पूर्वतयारी गरिराख्न सुवेदीले आग्रह गरेकाछन्।
पानी पर्न कम भएमा सलहको झुण्ड पश्चिम, दक्षिण पश्चिम तथा दक्षिणबाट हावासँगै नेपालको मध्य तथा पश्चिम तराई र सुदूरपश्चिम क्षेत्रबाट प्रवेश गर्न सक्छ । यसैबीच साउन १ गते दिउँसो बाँकेबाट नेपाल छिरेको सलह गुल्मी तथा प्युठानतिर पुगेको जानकारी आएको सुवेदीले बताए।
सलहले विशेष गरी तरकारी बालीमा केही क्षति गरेपनि पूर्वतयारी र सतर्कताका कारण धेरै नोक्सानी गरेको छैन। सलह भगाउनका लागि धुवाँ बाल्ने, ध्वनी जगाउने, ढ्याङ्ग्रो ठोक्ने, थाल ठटाउने गरेर ठूलो आवाज निकाल्न विज्ञको सुझाव छ।




