साउन ९ । अमेरिकाले चारजना चिनियाँ नागरिकविरुद्ध भिसा लिने क्रममा जालसाजी गरी झुट विवरण प्रस्तुत गरेको अभियोगमा अभियोग दर्ता गरेको छ।
त्यसमध्ये तीनजनालाई नियन्त्रणमा लिएको छ। अर्का एकजनाको खोजी भइरहेको संघीय अनुसन्धान व्युरो (एफबिआई) ले जनाएको छ।
चौथो व्यक्ति सन फ्रान्सेस्को स्थित चिनियाँ वाणिज्य दूतावासमा रहेको दाबी गरिएको छ। उनीहरुले चिनियाँ सुरक्षा निकायसँगको सम्बद्धताबारे भिसा लिने क्रममा झुट बोलेको आरोप छ।
एफबिआईले अमेरिकाका २५ सहरमा अरु मानिसहरुको पनि अन्तर्वार्ता लिएको छ, चिनियाँ सैनिकसँग अघोषित सम्बन्ध रहेको आशंकामा।
आर्मीका वैज्ञानिकहरुलाई अमेरिका पठाउने अभियान अन्तर्गत चीनले उनीहरुलाई सैन्य सम्बद्धताबारे जानकारी नखुलाई भिसा लिन लगाएको अमेरिकी अधिकारीको दाबी छ।
चीनको पिपुल्स लिबरेसन आर्मी (पिएलए) का सदस्यहरुले आफ्नो वास्तविकत सम्बद्धता नखुलाई अनुसन्धान भिसाका लागि निवेदन दिएको अमेरिकाको न्याय विभागका न्यायाधीवक्ता जोन सी डेमेर्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
चिनियाँ कम्युनिष्ट पार्टीले अमेरिकाको खुला समाजको फाइदा उठाउन र शैक्षिक संस्थाको शोषण गर्ने योजना अनुसार यस्तो गरेको उनले आरोप लगाएका छन्।
अमेरिकाले यसअघि एकजना चिनियाँ वैज्ञानिकले सन फ्रान्सेस्कोमा रहेको वाणिज्य दूतावासमा शरण लिएको बताएको थियो।
यस्तै अमेरिकाले बुधबार ह्युस्टनमा रहेको चिनियाँ वाणिज्य दूतावास बन्द गर्नका लागि ७२ घण्टाको समय दिएको थियो। यी सबै घटनाक्रमले अमेरिका र चीनबिचको तथा अप्रयासित रुपमा उत्कर्षमा पुगेको छ। एजेन्सी




