चितवन, साउन ९ । चितवनको नारायणगढस्थित एक पसलमा गएराती विद्युत् चुहावट भई आगलागी हुंँदा रू ५९ लाख बराबरको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार बिहीवार राती ११ बजेर २० मिनेटको समयमा भरतपुर महानगरपालिका वडा नं २ स्थित गंगोत्री मार्गमा रहेको मुक्ति शु सेन्टरमा विद्युत् सर्ट भई आगो लागेको थियो।
उक्त पसलबाट आगो सल्किदै नजिकमा रहेको ओम व्याग हाउस र सुमन आर्ट हाउसमा आगो लाग्दा थप क्षति हुन पुगेको हो।
आगलागीबाट मुक्ति शु सेन्टरको रू ३० लाख, ओम व्याग हाउसको रू।२० लाख र सुमन आर्ट पसलको रू ९ लाख बराबरको क्षति पुगेको प्रवत्ता प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिए।
राती लागेको आगो दमकल, स्थानीय बासिन्दा, सुरक्षाकर्मी, लगायतको सहयोगबाट निभाएको उनले बताए। आगलागीबाट पसलका सम्पूर्ण सामान पूर्णरुपमा जलेका छन्।




