काठमाडौं, साउन ९ । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल सुरु भएको छ।
दुई अध्यक्षबीच चार दिनपछि भेटवार्ता भएकोे हो। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष दाहाल भर्खरै बालुवाटार प्रवेश गरेका छन्।
सहमतिका लागि भन्दै स्थायी कमिटी बैठक सार्दै आए पनि साउन ६ गतेपछि दुई अध्यक्षबीच भेटवार्ता भएको थिएन।
उता अध्यक्ष दाहालले यसबीचमा आफू पक्षका नेताहरूसँग छलफल जारी राखेका छन्। अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार खुमलटारमा झन्डै २ घण्टा छलफल भएको थियो।
असार १० गतेदेखि सुरु भएकोे स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको छ। असार १६ पछि बैठक पूर्ण रुपले सञ्चालनमा आउन सकेको छैन। साउन ६ गते केहीबेर बसेको बैठक १३ गते बिहान ११ बजेसम्म बस्ने गरी स्थगित भएको थियो।
स्थायी कमिटी बैठकमा ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्ष एक पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपाभित्रको विवाद चुलिएको हो।
असार १४ गते मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई पदबाट हटाउन होटल र दूतावासमा छलफल भइरहेको अभिव्यक्ति दिएपछि नेकपाभित्र विवाद सतहमा आएको थियो।
असार १६ गतेको बैठकमा अर्का अध्यक्ष दाहालले प्रधानमन्त्रीको राजीनामा भारतले नभई आफूले मागेको प्रस्ट पारेका थिए।
स्थायी कमिटीमा पनि सचिवालयसहित बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग एकै स्वरमा राखेपछि नेकपाभित्रको शक्ति संघर्ष चर्किएको छ।
ओली कुनै पनि हालतमा दुवै पदबाट राजीनामा नदिने अडानमा छन्। विवाद बढ्दै गएपछि दाहाल–नेपाल समूह एकातर्फ र ओली एकातर्फ मोडिएका छन्।
साउन ३ गतेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मंसिरमा नै अर्लि महाधिवेशनको प्रस्ताव ल्याएपछि नेकपाभित्र दाहाल समूह थप सशंकित देखिएको छ।
‘दाहालले नै एकजुट बनाएर ओलीलाई दुवै पदबाट राजीनामा दिनुपर्ने अडान राख्नुभयो,’ नेपाल निकट एक स्थायी समिति सदस्यले भने, ‘तर पछिल्लो समय सचिवालय बैठकमा प्रधानमन्त्रीले राखेको प्रस्तावमा दाहालले पनि मौन समर्थन जनाएपछि गोप्य सहमति भएको हो कि भन्ने देखिएको छ।’
नेपाल समूहले साउन ३ गतेको सचिवालय बैठक सकिए लगत्तै राष्ट्रपतिलाई भेट्न दुवै अध्यक्ष गएको विषयले पनि ओली–दाहालबीच गोप्य सहमति नै भएको आशंका गरेका छन्। यद्यपि उक्त आशंका चिर्न दाहालले साउन ४ मा खुमलटारमा नेपालसहितका नेताहरुलाई बोलाएर प्रस्टीकरण दिइसकेका छन्।
सोही दिन दाहालले बालुवाटारमा पुगेर ओलीसँग छलफल गरेका थिए। दुई अध्यक्ष र नेताहरुबीच संवाद नभइरहेका बेला बिहीबार मात्रै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।




