काठमाडौं, असोज १७ । नेकपाको सचिवालय बैठक स्थगित भएको छ। शनिबार ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको एक नेताले जानकारी दिए। उनका अनुसार बैठक आइतबार ४ बजे बस्ने भएको छ। अध्यक्ष पुष्पकमल दाहालले बैठक सरेको जानकारी नेताहरुलाई गराएका थिए। बिहीबार सरकारले मुख्यसचिव र तीन देशमा राजदूत नियुक्त गरेपछि नेकपाभित्र विवाद भएको छ।
स्थायी कमिटी बैठकको प्रस्तावअनुसार मन्त्रिपरिषद् पुनगर्ठन र राजनीतिक नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष दाहालबीच छलफल चलिरहेका बेला सहमतिबिनै सरकारले महत्त्वपूर्ण राजनीतिक नियुक्ति गरेपछि नेकपामा नयाँ विवाद जन्मेपछि सचिवालय बैठक माग भएको थियो।
अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको पछिल्ला नियुक्तिलाई लिएर बैठकमा असन्तुष्टि राख्ने तयारी गरेका छन्।
त्यसबाहेक बैठकमा पूर्वनिर्धारित एजेण्डामा पनि छलफल हुने सम्भावना छ। अशोज ४ मा बसेको बैठकले मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक राजनीतिक नियुक्तिहरूबारे सरकारबाट निर्णय गर्नका लागि आधार तयार गर्ने, सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्ने र विविध एजेन्डा थिए।
विविधमा पार्टी संगठन विभागको निर्णयमा छलफल र अनुमोदनको प्रस्ताव, स्थायी र केन्द्रीय कमिटीमा रिक्त सदस्यहरूको पदपूर्ति र कारबाहीमा परेका नेताहरूको कारबाही फुकुवा, केद्रीय कमिटी सदस्यहरूलाई नियमित रूपमा आर्थिक सहयोग गर्नेलगायतका विषय छन्। बैठकले तय गरेका दुई एजेण्डामा मात्रै छलफल भएको थियो।




