राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन– २ का सांसद रवि लामिछानेको चितवन कार्यालयका प्रमुख कार्यकारी अधिकृत हेमन्त बरालले राजीनामा दिएका छन् । उनले लामिछानेको चितवन कार्यालयमा ९ महिनाअघि काम सुरु गरेका थिए । उनले राजीनामा पत्रमा व्यक्तिगत कारणले राजीनामा दिएको उल्लेख गरेका छन् । तर पछिल्लो समय उनलाई रास्वपाले चितवन छाडेर केन्द्रीय कार्यालय काठमाडौंमा काम गर्न भनेको एक नेताले बताए ।
बरालले मासिक एक लाख ५० हजार रुपैयाँ तलब लिने गरी काम सुरु गरेका थिए । गत वर्ष साउनमा विज्ञापन आह्वान गरेर लामिछानेले निर्वाचन क्षेत्र कार्यालयमा सीईओ राखेका थिए । उनलाई एक वर्षका लागि भनेर नियुक्त गरिएको भए पनि ८ महिनामै सम्झौता रद्द गरिएको रास्वपाका एक नेताले जानकारी दिए ।