खैरहनी नगरपालिकाको स्थापना दिवसको अवसरमा १ सय ६८ जनाले रक्तदान गरेका छन् ।
खैरहनी नगरपालिका स्थापना भएको १० वर्ष पूरा भएको अवसर पारेर आज नगरपालिका परिसरमा आयोजित रक्तदान कार्यक्रममा एक सय ६८ जनाले रक्तदान गरेका हुन् । कार्यक्रममा २५ जना महिला र १ सय ४३ जना पुरुषले रक्तदान गरेको खैरहनी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक नविन अधिकारीले जानकारी दिए ।
पछिल्लो समय चितवनमा रगत अभाव भएकोले नगरपालिका स्थापना दिवसको अवसर पारेर रक्तदान गरिएको खैरहनीका नगर प्रमुख शशी कुमार खनियाले बताए । कार्यक्रममा ५८ पटक रक्तदान गरेका होमप्रसाद तिवारीले समेत रक्तदान गरेका छन् ।