चितवन भरतपुर महानगरपालिका वडा नं–१५ मा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि आह्वान गरिएको बोलपत्र रद्द भएको छ । भरतपुर महानगरपालिकाले निर्माणको बोलपत्र प्रक्रिया रद्द भएको र नयाँ ठेक्का लाग्ने जनाएको छ ।
भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीका अनुसार २०८० फागुन १७ गते रङ्गशाला निर्माणका लागि ठेक्का आह्वान गरिएको थियो । भरतपुर महानगरको २०८१ को वैशाख ३१ गतेको निर्णयअनुसार ठेक्का आह्वान रद्द भएको भारती बताउँछन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का प्रक्रिया नियमसंगत नभएको जनाएपछि भरतपुर महानगरले बोलपत्र आह्वान रद्द गरेको हो । भरतपुर महानगरको ठेक्का प्रक्रियालाई लिएर खरिद अनुगमन कार्यालयमा मुद्दा परेको थियो ।
मुद्दा परेपछि खरिद अनुगमन कार्यालयले भरतपुर महानगरलाई ठेक्का प्रक्रिया नमिलेको जनाएको थियो । प्रमुख प्रशासकीय अधिकृत भारतीका अनुसार महानगरले ठेक्का आह्वान गरी ठेकेदार छनोट गरेको थियो, जुन विधिलाई अनुगमन कार्यालयले विधि नपुगेको जनायो । ठेक्का प्रक्रिया मिलेन भनी पत्र आएपछि महानगरले बोलपत्र आह्वानलाई नै रद्द गरी अर्को प्रक्रिया सुरू गर्ने तयारी गरेको छ । भरतपुर महानगरपालिकाले पहिलो चरणको निर्माणका लागि एक अर्बभन्दा बढीको ठेक्का आह्वान गरेको थियो ।
रङ्गशालालाई पहिलो चरणमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान र १५ हजार दर्शक क्षमताको प्यारापिट बनाउने गरी ठेक्का आह्वान भएको थियो । रङ्गशालालाई संघीय सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरे पनि निर्माणले गति लिन सकेको छैन ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम हाल भएकोे छैन, यद्यपि खेलकुदका गतिविधिहरु भइरहेका छन् । धुर्मुस–सुन्तली फाउन्डेसनले १७ करोड बढी ऋण देखाउँदै बीचमा नै निर्माण छोडेको थियो । क्रिकेट रङ्गशाला अलपत्र अवस्थामा रहेपछि सरकारले नै बनाउने निर्णय मन्त्रिपरिषद्बाट गरेको थियो ।
गत कात्तिकमा बागमती प्रदेश सरकारको ७० र भरतपुर महानगरपालिकाको ३० प्रतिशत लगानी रहने गरी सम्झौता पनि भएको छ । सोही सम्झौताका आधारमा भरतपुर महानगरले पहिलोपटक ठेक्का आह्वान गरेको हो ।
विसं २०७५ सालमा २० बिघा छ कठ्ठा जग्गामा रङ्गशाला निर्माणको काम धुर्मुुस–सुन्तली फाउन्डेसनले थालेको थियो । कोरोनाका कारण रकम संकलन नहुँदा फाउन्डेसनले २०७८ साउनदेखि निर्माणको काम अगाडि बढाउन नसकिएको भन्दै भरतपुर महानगरलाई नै परियोजना सुम्पेको थियो ।