असोज २,२०८१
नयाँ दिल्ली । गत जुलाईमा भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीको कान्छो छोरा अनन्तको राधिका मर्चेन्टसँग बिहे भयो । निकै तामझामका साथमा भएको विवाह पूर्वका समारोह र वैवाहिक समारोहमा देश विदेशबाट पाहुना आएका थिए ।
हालै अभिनेत्री अनन्या पाण्डेले विवाहबारे आफ्नो अनुभव साटेकी छिन् । एक अन्तरवार्तामा अम्बानीको हाई प्रोफाइल विवाह समारोहमा सहभागी हुन सेलिब्रेटीहरूले पैसा लिएको कुरालाई उनले अस्वीकार गरेकी छिन् ।
‘उनीहरू (अनन्त–राधिका) मेरा साथी हुन्, मानिसहरू यस्तो किन सोच्छन्, मैले बुझेकी छैन । उनीहरूको बिहेमा मैले जमेर नाचेँ, किनकि म मेरा साथीहरूको विवाहमा उपस्थित थिएँ । म उनीहरूबिचको मायाको उत्सव मनाउँदै थिएँ,’ उनले माशेबल इन्डियालाई दिएको एक अन्तरवार्तामा अनन्याले भनिन् ।
उनले अगाडि भनिन्, ‘बिहेमा आएका हरेक पाहुनालाई अम्बानी परिवारले हृदयदेखि नै स्वागत गरेका थिए । हरेक समारोहमा परिवारका सबै सदस्यले पाहुनाको सत्कारमा निकै ध्यान दिएका थिए र यो राम्रो कुरा हो । यसले विवाहमा अतिथिहरूलाई आफ्नोपन महसुस भयो ।’
विवाहको हरेक समारोहमा बलिउड सेलिब्रेटीहरू सहभागी भएका थिए । प्रियंका चोपडा, शाहरुख खान, रजनीकान्त, पहलवान जोन सीना, रणवीर सिंह, सञ्जय दत्त, जान्हवी कपूर र अर्जुन कपुरले जन्तीमा खूबै नाचेका थिए ।
बिहेमा पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयर, यूपीका पूर्व मुख्यमन्त्री अखिलेश यादव, बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादव र बंगालकी मुख्यमन्त्री ममता बनर्जीलगायत भारत र विदेशका २ हजारभन्दा बढी सेलिब्रेटी र नेताहरू सहभागी भएका थिए ।