असोज २,२०८१
तनहुँ । तनहुँको बन्दीपुरमा ‘मिनीग्रेटवाल’ निर्माण अन्तिम चरणमा पुगेको छ । बन्दीपुर–२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरु गरी चुलिडाँडामा पुगेर टुंगिने क्रममा छ ।
यो पर्खालको दूरी करिब दुई किमि छ । यसमध्ये हालसम्म ८० प्रतिशत कार्य पूरा भइसकेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए । बन्दीपुरका गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले निर्माण कम्पनीका ढिलाइ हुन गएको बताए । उनले भने, ‘आउँदो पुस महिनाभित्र सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माण कम्पनीले तीव्रता दिइएको छ, अहिले दैनिक २० देखि २५ जना जनशक्ति परिचालन गरिएको छ ।’
उक्त पदमार्गलाई मुकुन्देश्वरी मिनी ग्रेटवाल नामाकरण गरिएको छ । पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ । मिनी ग्रेटवाल निमार्ण नौलो काम भएकोले काठमाडौँ, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रको बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रको पनि केन्द्रको रुपमा विकास गर्ने गाउँपालिकाको योजना छ ।
अध्यक्ष थापाका अनुसार मिनिग्रेटवालको बाँकी दूरीमा दुवैतर्फ पर्खाल लगाउने, पर्खालको दायाँबायाँ भित्तामा ढुङ्गा छाप्ने, दायाँबायाँ भित्तामा बत्ती जडानगर्ने लगायतका कार्य भइरहेको छ,जुन आकर्षण किसिमको बनाइनेछ ।
मिनिग्रेटवाल निर्माणले बन्दीपुरमा आउने पर्यटकलाई थप आर्कषण हुने भएकाले पर्यटकका लागि नौलोपन हुनेछ, पर्यटक थप वृद्धि हुने अपेक्षा गरिएको बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले बताए ।
तनहुँको डुम्रे बजारबाट नौ किलोमिटर नागवेली उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशंखला, पहाड, टाकुरा हेर्न सकिन्छ । पश्चिमको धौलागिरिदेखि अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बुद्ध हिमालदेखि पूर्वका गणेश हिमाल र लाङटाङ, हिम शृंखला सयौँ चुचुरा बन्दीपुरबाट देख्न सकिन्छ ।
प्रमुख आर्कषण दोहोरो लाइण्न मिलाइएका ढुङ्गाले छाइएका कलात्मक घर, नेवारी संस्कृति, सफा र राम्रा बाटो, थानीमाई खड्गमाई, बिन्धवासिनी मन्दिर, तीनधारा, रानीवन, फराकिलो टुँडिखेल, सहिदपार्क लगायतका बन्दीपुरको हेर्न लायक स्थान हुन् ।
बजार वरपर गुरुङ समुदायको घाँटु, मगर समुदायको कौरा, स्थानीय खानाका परिकारले पर्यटकलाई लोभ्याउँछ । बन्दीपुरमा यहाँको स्थानीय नेवार समुदायबाट विभिन्न पर्वमा प्रस्तुत गरिने खड्गजात्रा, गाईजात्रा, रोपाइँजात्रा, लाखेनाचका लागि जिल्लामै अग्रस्थानमा छ । बन्दीपुर प्याराग्लाइडिङका लागि पनि प्रख्यात ठाउँ हो ।