असोज ८, २०८१
काठमाडौँ —सामाजिक सञ्जालको प्रयोगले कोही व्यवसायी बनेका छन् त कोही ‘कन्टेन्ट क्रिएटर’ । ज्ञान बाँडेर आम्दानी गर्ने अनुपमा संग्रौलादेखि कपडाको व्यापार गर्ने प्रनिता नयाजु श्रेष्ठ धेरैका लागि उदाहरणीय बन्न सक्छन् । यी दुईका अनुभवले यही भन्छ, सामाजिक सञ्जालको सही प्रयोगले आम्दानीका बाटो खोल्न सकिन्छ ।
पछिल्लो समय सामाजिक सञ्जालमा व्यवसाय गर्ने जमात बढ्दै गएको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगले डिजिटल आम्दानीको ‘क्रेज’ बढेको छ । सामाजिक सञ्जालको प्रत्यक्ष फाइदा धेरै युवापुस्ताहरूले लिन थालिसेकका छन् । अनलाइनमार्फत ‘थ्रिप्टदेखि क्लोथिङ ब्रान्ड’मार्फत आम्दानी गरिरहेका छन् । तिनैमध्येकी एक हुन्, प्रनिता नयाजु श्रेष्ठ । उनले दुई वर्षअगाडि नै ‘पेस १९’ पेजमार्फत अनलाइन व्यापार गरिरहेकी छन् । उनको व्यवसाय ‘थ्रिप्ट’बाट नै सुरु भएको हो । जुन पुराना तथा आफूलाई ठीक नभएका लुगाहरू पुनः बिक्री हुन्थ्यो ।
प्रनिताको फेसनमा पहिल्यैदेखि एकखाले ‘क्रेज’ थियो । भक्तपुरकी उनी फेसन डिजाइनर बन्न चाहन्थिन् । नयाँनयाँ पहिरन बनाउने र लगाउने रहर थियो उनको । यही रहरलाई नै पछि व्यवसायमा परिणत गरिन् । पेजको नाम राख्नु पनि उनको आफ्नै कारण छ । ‘पेस’ अर्थात् गति अर्थात् निरन्तरता । १९ उनको त्यसबेलाको उमेर । आमाले दिएको २० हजार रुपैयाँबाट सुरु गरेको उनको व्यवसायमा अहिले ३ लाख लगानी पुगिसेकेको छ । टिनएजर्सलाई फोकस गरेर पेज सञ्चालन गरेको उनको भनाइ छ । पहिरनमा उनले बजारको टेन्ड्रलाई हेर्दिनन् । बरु कसरी नयाँपन दिन सकिन्छ भन्नेमा उनको जोड रहन्छ । पहिले ‘स्याम्पल’ बनाउँछिन्, अनि फेसन डिजाइनरको सहयोग लिएर पहिरनमा ‘नयाँ लुक्स’ दिने गर्छिन् । भनिन्, ‘नयाँ डिजाइनमा लुगा कसरी दिन सकिन्छ भनेर आफैं स्याम्पलिङ गरेर फेसन डिजाइनर मार्फत बनाएर बिक्री गर्ने गर्छु ।’
अहिले २२ वर्ष पुग्नै लागेकी प्रनिताले पेजमार्फत नै खर्च जुटाउन थालिसकेकी छन् । आर्थिक रूपमा आत्मनिर्भर बनेकी उनको अब ‘भ्युअर’ बढाउने योजना छन् । यो व्यवसायमा तितो अनुभव पनि बटुलेकी छन् । सामान मगाउने तर पैसा नदिनेजस्ता थुप्रै समस्या उनले भोगेकी छन् । एक घटना सुनाउँदै भनिन्, ‘सामान मगाएर पैसा नपाउनु नै मुख्य समस्या हो, साइबर ब्युरोमा समेत निवेदन हाल्नुपरेको छ ।’
धेरै फेक आईडीका कारण अनलाइन व्यापारप्रति विश्वास बढ्न नसकेको उनको बुझाइ छ । सस्तो मूल्यमा सामानहरू राख्ने र ग्राहकहरू पनि त्यसमा लोभिने भएकाले ठगी बढ्ने गरेको उनी बताउँछिन् ।
अनुपमा संग्रौला चार्टर्ड एकाउन्टेन्ट हुन् । उनले सामाजिक सञ्जालमा बित्तीय, कानुनी, शैक्षिकजस्ता ‘कन्टेन्ट’ भिडियोहरू पोस्ट गर्ने गर्छिन् । सचेतनासम्बन्धी भिडियोले छोटो समयमा नै उनलाई सेलिब्रेटी बनाएको छ । ‘मैले सिए पढ्दाका आफ्ना अनुभव नै सेयर गर्ने गरेकी हुँ, पहिलो भिडियोमार्फत नै धेरै प्रश्नहरू आए । त्यसपश्चात् भने निरन्तरता दिन मन लाग्यो,’ उनले भनिन् । लकडाउको समयमा टिकटकमार्फत सुरु भएको उनको यो यात्रा अहिले फेसबुक, इन्स्टाग्राम हुँदै युट्युबसम्म पुगेको छ ।
सामाजिक सचेतना फैलाउने खालका फरकफरक विषयका ‘कन्टेन्ट’ उनले कसरी खोज्छिन् त ? भन्छिन्, ‘मेरो आफ्नै अनुभव नै कन्टेन्ट बनिरहेको हुन्छ ।’ भारतीय ‘कन्टेन्ट क्रिएटर’बाट पनि प्रभावित छन्, उनी । यसको प्रभाव हो, भिडियोमा उनको दोहोरो चरित्र । उनलाई लाग्छ, ‘साँच्चै कलाकार पो भएँ कि ?’ त्यसो त उनको सानैदेखिको रुचि चाहिँ कलाकार पो भएँ कि ?’ त्यसो त उनको सानैदेखिको रुचि पनि कलाकार बन्ने नै थियो रे ।
भिडियोदेखि प्रत्यक्ष म्यासेजमा उनलाई धेरै विषयको भिडियो बनाउन आग्रह आउँछन् । फलोअरका लागि पनि उनले ‘कन्टेन्ट’ निर्माण गरेकी हुन्छिन् । उनले यसमा श्रीमान्ले सहयोग पनि लिन्छिन् । सुरुवाती दिनमा भिडियो सम्पादन गर्नेदेखि खिच्नेसम्मका काममा श्रीमान्कै सहयोग हुन्थ्यो । अहिले भने उनी पोख्त भइसकेकी छन् । लेखा, वित्तीयदेखि कानुनका सामान्य कुराहरूमा पनि सामाजिक चेतना न्यून रहेको उनको अनुभव छ । कर, कम्पनीका कानुन, सरकारी नियमजस्ता सामान्य विषयमा पनि चेतना कमजोर रहेको उनले बताइन् । उनी यसै विषयमा ‘कन्टेन्ट’ बनाएर चेतना बाँडिरहेकी छन् ।