असोज १५, २०८१
काठमाडौँ —बाढी र पहिरोले अवरुद्ध सडक खुल्ने र बन्द हुने क्रम जारी छ । आइतबार साँझबाट एकतर्फी सञ्चालनमा आएको नागढुंगा–मुग्लिन सडकखण्ड सोमबार साँझ पुनः अवरुद्ध भएको थियो । दुईतर्फी सडक सञ्चालन गर्ने तयारी हुँदै गर्दा सोमबार साँझ मलेखुको पहरेघाटमा फेरि पहिरो खसेपछि एउटा गाडी पास हुने गरी बाटो खोलिएको छ । यस्तै समस्या प्रायःजसो सबै सडकमा देखिएको छ ।
बाढीपहिरोले क्षति पुर्याएका ४ सय ९ स्थानको सडक एकतर्फी मात्रै सञ्चालनमा छन् । जहाँ हिलो तथा सुक्खा पहिरो झरेर फेरि समस्या नआउला भन्न सकिँदैन । तत्कालका लागि सडक पूर्वाधार अस्थायी रूपमा मर्मत गरेर यातायात सञ्चालन गर्ने गरी मात्रै काम भइरहेको सडक विभागले बताएको छ ।
त्यस्तै समस्या बीपी राजमार्गमा पनि छ । झन्डै १० हजार सवारी यो राजमार्गमा गुड्छन् । पूर्वी नेपाल तथा तराईलाई राजधानीसँग जोड्ने यो छोटो वैकल्पिक मार्ग हो । अहिले यो राजमार्ग बाढी र पहिरोका कारण अस्तव्यस्त बनेको छ । धुलिखेल–नेपालथोक अन्तर्गत ५० किलोमिटर खण्डको करिब आधा दर्जन स्थानमा सडक नै बगेको छ । विभिन्न खण्ड गरेर १ किलोमिटर बढी सडक रोशी खोलाले बगाएको छ । अहिले उक्त स्थानमा सडक मर्मतको कुनै काम हुन सकेको छैन । जसले गर्दा यो खण्डमा यातायात लगभग ठप्प छ । धुलिखेलबाट पाँचखालको चौकीडाँडासम्म पहिरो पन्छाएर एकतर्फी सडक सुचारु गरिए पनि त्यहाँ ठूला सवारीसाधन चलाउन मिल्ने अवस्था छैन ।
नेपालथोकको झोलुंगे पुलनजिकै करिब सय मिटर सडक बगेको छ । त्यहाँ कालोपत्रे सडकको कुनै संकेत नै देखिन्न । गाडी गुड्ने ठाउँमा खोला बगिरहेको छ । यो सडकखण्डको ७ ठाउँमा रोशीले कालोपत्रे सडक बगाएको छ । काभ्रेको मंगलटारमा २ सय मिटर सडक बगेको छ । नेपालथोक–धुलिखेल खण्डमा डेढ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको छ । सबैभन्दा बढी काभ्रेको चौकीडाँडामा करिब आधा किलोमिटर सडक रोशीले बगाएको छ । रोशी गाउँपालिकाको कालढुंगा र बोक्सीकुना खण्डमा २ सय मिटरभन्दा बढी सडक पूर्ण रूपमा क्षति भएको छ । यता थलीबेसी र नार्के पुलनजिक २/२ सय मिटरको हाराहारीमा सडक बगेको छ ।
नेपालथोकनजिक बगेको एक सय मिटर सडकमा रोशी खोलालाई ‘डाइभर्ट’ गरेर सडक बनाउने काम सुरु गर्न लागेको सडक डिभिजन कार्यालय खुर्कोटका प्रमुख पारसमणि हमालले जानकारी दिए । बीपी राजमार्गको १ सय १० किमि सडकमा यातायात सुचारु रहेको छ । तर, करिब ५० किमि सडकखण्डमा भने पुनर्निर्माण आवश्यक छ ।
नागढुंगा–मुग्लिन र बीपी राजमार्ग मात्रै नभएर सोमबार साँझसम्म देशका विभिन्न सडकखण्डको ४५ स्थानमा यातायात ठप्प छ । पहिरोले अवरुद्ध बनेका ३ सय ४५ स्थानमा सोमबारबाट दुईतर्फी सडक सुचारु गरिएको छ । ४ सय ९ स्थानमा एकतर्फी मात्र सडक सञ्चालनमा आएको छ । मध्यपहाडीको सिन्धुली–उदयपुर–ओखलढुंगा र खोटाङको दर्जन बढी स्थानमा पहिरो खसेको छ । विभागका अनुसार उक्त राजमार्गको सिन्धुली खण्डमा पर्ने कुडुले, अक्करे भीर, पञ्चकन्या, कालीमाटी–सनमबेसी, सोखुखोला र कल्लेरी दोभान खण्डमा दुईतर्फी रूपमै सडक सञ्चालनमा छ । यही राजमार्गको कुखेरेटारमा भने सडक एकतर्फी सञ्चालनमा छ ।