असोज १५, २०८१
काठमाडौँ । प्रस्तावित प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध संसदीय सुनुवाइ समितिमा ६ वटा उजुरी दर्ता भएका छन् । उनीविरुद्ध अमेरिकादेखि बाजुराका एक स्थानीयसम्मले उजुरी दर्ता गराएका छन् ।
समितिले राउतविरूद्ध १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो । अमेरिकाबाट राउतविरुद्ध नेपाली सेनाका अवकाश प्राप्त सेनानी प्रज्वल बस्नेतले सैनिक ऐनको गलत व्याख्या गरेको भनी उजुरी दर्ता गराएका छन् ।
बाजुराका गगन ऐडीले न्यायाधीश राउतले पक्षपातपूर्ण व्यवहारका साथै राजनीतिक आस्थाका आधारमा फैसला तथा आदेश दिने गरेको आरोप लगाएका छन् ।
ऐडीले राउतसँग कार्यक्षमता अभाव भएको र प्रमाण मूल्याङ्कन गर्ने क्षमता नै नभएको दाबी गरेका छन् ।
राउत सम्मिलित इजलासबाट छोरा चेतनदास ऐडीको हत्यामा संलग्न नेपाली कांग्रेस निकटहरूलाई साधारण तारेखमा रिहा गरेको भन्दै उनले यस्तो आरोप लगाएका हुन् ।
कांग्रेस पृष्ठभूमि भएका न्यायाधीशहरू राउत र अब्दुल अजिज मुसलमानले पार्टीका वकिल र कार्यकर्ताको भनाइबाट प्रेरित भएर ज्यान मार्ने अभियोग लागेको व्यक्तिलाई धरौटी माग गरेको ऐडीको दाबी छ । २०७९ सालको निर्वाचनमा बाजुरामा उन छोराको हत्या भएको थियो । उक्त प्रकरणमा जिल्ला र उच्च अदालतले थुनामा पठाएका आरोपितलाई सर्वोच्चले धरौटीमा छोडेको थियो ।
अर्का एक उजुरीकर्ताले राउतको दाम्पत्य जीवन विवादित रहेको भन्दै उनलाई अनुमोदन गर्न नहुने मागसहित उजुरी दिएका छन् ।
प्रस्तावित प्रधान न्यायाधीशले हाइड्रो पावरमा लगानी गरेको, सांग्रिलामा पौडी खेल्ने र सर्वोच्चकै क्यान्टिन सञ्चालकको रेष्टुरेण्टमा मोजमस्ती गर्ने गरेको उजुरीमा उल्लेख छ ।
राउतविरूद्ध चितवनकी शुभलक्ष्मी थपलियाले आफ्नो संवैधानिक हक नै मासेर उठिबास लाग्ने गरी त्रुटिपूर्ण फैसला गरेकाले प्रधान न्यायाधीशमा अनुमोदन गर्न नहुने मागसहित उजुरी दिएकी छन् ।
उनले राजमार्गमा परेका कारण आफ्नो ११ आना जग्गा गुमेको र बाँकी रहेको ३ आना जग्गा पनि राउतकै फैसलाले गुमाएको दाबी गरेकी छन् ।
२०८० साल चैत १५ गते चितवन हाजीपुरमा ११ आना जग्गा राजमार्गमा परेको र ३ आना जग्गा जग्गाको सवालमा उठिबास लाग्ने गरी त्रुटिपूर्ण फैसला भएको उनको दाबी छ ।
अन्य दुई उजुरीकर्ताले भने प्रधान्यायाधीश राउतविरूद्ध व्यक्तिगतभन्दा पनि अदालत सुधारको विषयलाई उठाएका छन् ।
प्रस्तावित प्रधान न्यायाधीश राउतविरूद्ध संसदीय सुनुवाइ समितिले बुधबार सुनुवाइको तयारी गरेको छ ।