असोज १५, २०८१
झ्याप्ले खोलामा पहिरोले भत्केको सडक मर्मतका लागि काठमाडौं जाने सवारीसाधनलाई चितवनमै रोकिने भएको छ।
गृह मन्त्रालयको निर्देशनअनुसार मंगलबार साँझ ७ बजेदेखि बुधबार बिहान ५ बजेसम्म काठमाडौं जाने सबै गाडीहरू रोक्न लागिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले अत्यावश्यक सवारी साधनबाहेकलाई रोक्न निर्देशन आएको बताए।
नवलपरासीतिरबाट आउने सवारी साधनहरू गैंडाकोटमा र पूर्वबाट आउने सवारीसाधनलाई भरतपुरको आँपटारीमा रोकिने उनले बताए। पोखराबाट आउने सवारीसाधनहरूलाई मुग्लिनमा रोकिनेछ।
शनिबार बिहान अन्दाजी ३-४ बजेतिर झ्याप्ले खोलामा पहिरो खसेको थियो। उक्त पहिरोमा चार वटा गाडी पुरिँदा ३५ जनाले ज्यान गुमाएका थिए।