प्रकृति, संस्कृति र सिर्जनशीलताको उत्सव मनाउने उद्देश्यले हिमालपारिको जिल्ला मुस्ताङमा कात्तिकको २ देखि ८ गतेसम्म पहिलो अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव आयोजना हुने भएको छ ।
मुस्ताङको परम्परागत संगीत, नृत्य र सांस्कृतिक परम्परालाई चित्रकारमाझ बाँड्ने र प्रवर्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजक समितिका ट्रिपल पी गुरुङले जनाए ।
महोत्सवको अर्को आकर्षणको रुपमा ‘ट्राभलिङ किम्फ’ छ । कात्तिक ४ देखि ८ गतेसम्म हरेक साँझ दुई घण्टा हिमाली क्षेत्रका प्रसिद्ध फिल्म देखाइने यो कार्यक्रमलाई काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)ले संयोजन गर्नेछ ।
महोत्सवमा थाइल्यान्डबाट डिरेक किङ्नक र काराज डब्लुएसपी, पोल्यान्डबाट इवा क्रुएजकोस्का, रोमानियाबाट स्टेफन बालोग, भुटानबाट जामपेल छेदा, इन्डोनेसियाबाट एमी गो र ताइवानबाट छेङ हान–वेन लगायतका अन्तर्राष्ट्रिय चित्रकारले सहभागिता जनाउनेछन् ।
नेपालका चित्रकार सिर्जन राजभण्डारी, एरिना ताम्राकार, हरेराम जोजु, एनबी गुरुङ, वाङ लामा, ध्वज गुरुङ, मनोज तामाङ, नविन नाल्बो र आकाश गुरुङले पनि आफ्नो प्रतिभा बाँड्नेछन् ।
फेस्टिभल आयोजनाले मुस्ताङको पर्यटन प्रवर्धनमा पनि भूमिका खेल्ने किम्फ अध्यक्ष रम्यता लिम्बुले बताइन् ।
नेपाल पर्यटन बोर्ड प्रबर्धन साझेदार रहेको महोत्सवको प्रायोजन ओम्स होम, रेडहाउस र ठमेल भिल्ला होटलले गरेका छन् । सहयोगीमा युरोपियन युनियन, स्वीस सरकार विकास सहयोग एसडीसी, दलाइ ला, यति एयरलाइन्स, शेर्पा ब्रुअरी, हार्मोनिक लिबरेसन, होटल मस्र्याङ्दी छन् ।