कार्तिक ७, २०८१
काठमाडौँ । आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन कांग्रेसका सभापति शेरबहादुर देउवाको साथ पाउने अपेक्षा गरेका थिए । पूर्वप्रधानमन्त्री समेत रहेका देउवासँग त्यसअघि ओलीले बारम्बार भेटेर मनाउने प्रयास गरेका थिए । तर देउवाले हुन्छ वा हुँदैन भनेर कुनै वचन दिएका थिएनन् ।
अध्यादेश ल्याउनका लागि देउवालाई मनाउन ओलीले निकै प्रयास गरेका थिए । दुई शीर्ष नेताबिच भेटवार्तापछि बालुवाटारमै एमाले र कांग्रेसका नेताहरू आन्तरिक छलफलमा जुटेका थिए । एमालेबाट महासचिव शंकर पोखरेल, विष्णु पौडेल लगायत नेताहरू र कांग्रेसबाट गृहमन्त्री समेत रहेका रमेश लेखक, महामन्त्री गगन थापा लगायत नेताहरू सहभागी थिए ।
यता कांग्रेसको आन्तरिक छलफलमा देउवाले अध्यादेश ल्याउनुपर्ने बाध्यता नेताहरूसमक्ष राखेका थिए । देउवाको प्रस्तावप्रति असहमति जनाउँदै नेताहरूले संसद्लाई छलेर अध्यादेश ल्याउँदा सरकार थप अलोकप्रिय हुनेतर्फ देउवाको ध्यानाकर्षण गराइएको बुझिएको छ । बाहिर सरकारप्रति नकारात्मक धारणा बनिरहेको, बाढी पहिरो पीडितहरूलाई राहत तथा पुनर्स्थापनाका लागि प्रभावकारी काम हुन नसकेको, संसद् अधिवेशन अन्त्य भएको बेला दल विभाजनसम्बन्धी अध्यादेश ल्याउँदा नकारात्मक सन्देश प्रवाह हुन सक्नेतर्फ नेताहरू सचेत देखिन्थे ।
संसद् छलेर हतारमा अध्यादेश ल्याउन समर्थन दिन नहुने सुझाव कांग्रेस नेताहरूले देउवालाई दिएका थिए । कांग्रेसका महामन्त्री थापामात्र होइन, हाल देश बाहिर रहेका अर्का महामन्त्री विश्वप्रकाश शर्मासहित अरु नेताहरु डा. शेखर कोइराला, मीन विश्वकर्मा, अर्जुननरसिंह केसी लगायत नेताहरू अध्यादेश ल्याउन नहुने पक्षमा उभिएका थिए । महामन्त्री थापासहित अधिकांश नेताहरू अध्यादेशको विपक्षमा उभिएपछि देउवा ओलीलाई समर्थन दिनबाट हच्किएको बुझिएको छ ।
अध्यादेश प्रकरण, समसामयिक राजनीति लगायतका विषयमा महामन्त्री थापाले मंगलबार सभापति देउवासँग चासो राखेको बुझिएको छ । बिहान देउवालाई भेट्न थापा उनकै निवास बुढानीलकण्ठ पुगेको नेता मीन विश्वकर्माले स्वीकारेका छन् । अध्यादेश, समसामयिक राजनीति, पार्टीको आन्तरिक विषयमा छलफल भएको विश्वकर्माले जानकारी दिए ।