कार्तिक १०, २०८१
नेपालमा हालसम्म २२ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण भइसकेको छ । यसमध्ये ११ जनाको मृत्यु भएको छ । डेंगुको मृत्युदर शून्यमा झार्ने लक्ष्यसहित यो वर्षमात्रै सरकारले डेंगु नियन्त्रणका लागि करिब २५ करोड रुपैयाँ खर्च गरिसकेको छ । यद्यपि डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या शून्यमा झार्ने लक्ष्य विफल भएको छ ।
सन् २०२३ मा ५१ हजार २४३ जनामा डेंगु सङ्क्रमण भएकोमा २० जनाको मृत्यु भएको थियो । यस्तै, सन् २०२२ मा ५४ हजार ७८४ जना सङ्क्रमितमध्ये ८८ जनाको मृत्यु भएको थियो । करोडौँ रकम खर्च हुँदा पनि सरकारले डेंगु नियन्त्रण किन गर्न सकेन, समस्या के कस्ता छन् ? डेंगु नियन्त्रणका लागि सरकारले के–कस्ता योजना ल्याएको छ भन्नेजस्ता विषयमा केन्द्रित भएर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीसँग कुराकानी गरेको छौं। प्रस्तुत छ, प्रवक्ता डा. बुढाथोकीसँग गरिएको कुराकानीको सम्पादित अंश–
- देशभर डेंगुको प्रकोप कसरी फैलिरहेको छ ?
हाम्रो मुख्य चाड बडादसैँसँगै डेंगुको सङ्क्रमण पनि बढेको देखिन्छ । विशेष गरी दूरदराजमा सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको छ । तर काठमाडौँ, पोखरा, चितवन लगायत जनघनत्व बढी भएको ठाउँमा डेंगु सङ्क्रमण बढी देखिएको छ ।
- गर्मीको समय सकिएर जाडो सुरु हुँदा पनि किन डेंगु फैलिरहेको छ ?
जहाँ बढी आवतजावत हुन्छ, त्यहाँ डेंगु बढी फैलिएको छ । अहिले पनि लामखुट्टेको वृद्धिविकास नहुने गरी चिसो भइसकेको छैन । अहिले सहरका मान्छे गाउँतिर, गाउँका मान्छे सहरतिर फर्किनु भएको छ । यसले पनि डेंगु फैलिएको छ ।
डेंगु सार्ने लामखुट्टेले सूर्योदय अघि र सूर्यास्तपछि टोक्ने गर्छ । एक पटकमा एउटा लामखुट्टेले १० देखि १५ जनालाई डेंगु सार्न सक्छ । किनभने चाडपर्वमा धेरै जना एकै ठाउँमा बस्यौँ, यसले सङ्क्रमण फैलियो ।
- क्षेत्रगत रूपमा कुन–कुन ठाउँ धेरै सङ्क्रमण देखिएका छन् ? यसका कारण के हो ?
क्षेत्रगत रूपमा सबैभन्दा बढी सङ्क्रमण काठमाडौँमै छ । दोस्रोमा कास्की छ । तेस्रोमा तनहुँ, चौथोमा पर्वत छ । त्यही अनुसार विभिन्न जिल्लामा क्रमशः सङ्क्रमण बढ्दै गएको छ । डेंगुले बढी दुःख दिएको काठमाडौँ र पोखरा नै हो । किनकि यहाँ जनसङ्ख्या बढी छ । आवतजावत बढी छ । यसले यहाँ बढी डेंगु सङ्क्रमण बढी देखिएको हो ।
- कुन–कुन महिना डेंगु सङ्क्रमणबाट बढी प्रभावित हुन्छ ?
बढी प्रभावित हुने महिना भदौदेखि कार्तिकसम्म हो । यसपाली वर्षा लम्बिएको छ । हिजोआज पनि पानी परिरहेको छ । त्यो पानीले डेंगु सार्ने लामखुट्टेको वृद्धि र विकास भइरहेको छ । लामखुट्टेले एक पटकमा एक हजारसम्म अण्डा पार्छ । लामखुट्टेको सो अण्डामा पनि डेंगुको भाइरस हुन्छ । यही अण्डाबाट वयस्क हुने लामखुट्टेले नै सङ्क्रमण सार्छ ।
- डेंगुका कति प्रकारका भेरियन्ट देखिएका छन् । यिनीहरूको फरकफरक अवस्थाबारे कसरी बुझाउने ?
हालसम्म नेपालमा डेंगुको सेरोटाइप १, २, ३ मात्रै देखिएको छ । राष्ट्रिय प्रयोगशालामा डेंगु सङ्क्रमितहरूको रगत लिएर नमुना परीक्षण गर्छौं । सो परीक्षणमा नयाँ किसिमको भेरियन्ट देखिएमा हामीले हाम्रो रणनीति परिवर्तन गर्छौं तर पुरानै भेरियन्ट देखापरे हाम्रो पुरानै रणनीतिले कार्य गर्दछ । त्यसैले हामीले यसमा पनि काम गरिरहेका छौँ ।
- डेंगुले किन गम्भीर रूपमा गलाउँछ ? यसका सवभेरियन्टबाट जोगिन सरकारी योजना के छ ?
डेंगुको सवभेरियन्ट आउन सक्छन् भनेर ‘रेण्डम सेम्पलिङ’ गरिरहेका छौँ । देशभरका अस्पतालमा डेंगु उपचारका क्रममा फरक लक्षण हुने, उपचारका क्रममा समस्या देखिएमा त्यस्ता बिरामीको नमुना परीक्षणका लागि पठाउन आग्रह गरेका छौँ । सामान्य देखिने लक्षणभन्दा फरक, उपचार गर्दा ठिक भइरहेको छ भने त्यस्तालाई परीक्षण गरिँदैन तर केही यीभन्दा फरक लक्षण र उपचार गर्दा निको भएन भने हामी त्यसको नमुना सङ्कलन गरी परीक्षण गर्छौं ।
- डेंगु नियन्त्रणका लागि सरकारी पहल कस्तो छ ?
हामीले पहिलो रणनीति भनेर डेंगु सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने योजना लिएका छौँ । स्थानीय तहलाई खोज र नष्ट गर भन्ने योजना र जनचेतनाका लागि रकम उपलब्ध गराएका छौँ । कार्ययोजना पनि दिएका छौँ । देशभरका ७७ वटै जिल्लामा रकम उपलब्ध गराएका छौँ । डेंगुका प्रजाति निकाल्नका लागि हामीले राष्ट्रिय प्रयोगशालासँग समन्वय गरेका छौँ । हाम्रा सङ्घीय र प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीलाई डेंगुको उपचारका लागि तालिम दिने गरेका छौँ ।
लगभग १६ वटा भाषामा रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमा सचेतना दिएका छौँ । देशभर हरेक शुक्रबार बिहान ९ बजे सरसफाइ लागु गरेका छौँ । १४४ अस्पतालका स्वास्थ्यकर्मी तथा देशभरका स्वास्थ्य स्वयंसेविकालाई तालिम दिएका छौँ ।
- सरकारले डेंगुबाट हुने मृत्यु शून्यमा झार्ने लक्ष्य राखे पनि सफलता हासिल हुन सकेको छैन । सरकार कहाँ चुक्यो ?
सरकारले यो वर्षदेखि डेंगुबाट हुने मृत्यु शून्यमा झार्ने गरी लक्ष्य लिएर काम गरेको हो । यसरी लक्ष्य लिएमा काम गर्न सकिन्छ भनेरै लिएका छौँ । यो लक्ष्य लिएर काम गर्न सम्भव थिएन, तथापि हामीकहाँ कुनै पनि वयस्क मान्छे डेंगुको कारणले मात्र मृत्यु भएको होइन । डेंगु भएर मृत्यु भएकाहरूमा फोक्सो सम्बन्धी रोग, क्यान्सर जस्ता दीर्घरोग पनि रहेको पाइएको छ । डेंगुकै मात्र कारणले गर्दा मृत्यु नहोस् भन्ने हाम्रो धारणा हो ।
- डेंगु नियन्त्रणका लागि कति बजेट खर्च भएको छ ?
देशभरका ७५३ स्थानीय तहमा ७ देखि ८ करोड रुपैयाँ रकम पठाइएको छ । त्यस्तै ७७ जिल्लामा करिब ८ करोड नै रकम खर्च भएको छ । अन्य विभिन्न योजनामा गरी २० देखि २५ करोड रुपैयाँ खर्च भएको छ ।
- सरकारले आगामी दिनमा डेंगुलाई नियन्त्रण गर्न के–कस्ता योजना बनाएको छ ?
डेंगु नियन्त्रणका लागि रणनीति बनिसकेको छ । त्यही अनुसार कार्ययोजना पनि बनेको छ । सो कार्ययोजनालाई हरेक स्थानीय तहसम्ममा कार्यान्वयन गराउने सरकारी योजना छ । स्थानीय तह र व्यक्तिले यसमा सघाउन आवश्यक छ ।