कार्तिक १०, २०८१
साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल अमेरिका गएर नफर्किएपछि वडा कार्यालयमा लगाइएको ताला खुलेको छ । वडाध्यक्षको पद रिक्त गर्ने प्रक्रिया बढाउने सहमतिपछि शुक्रबार ताला खुलाइएको हो ।
वडाध्यक्ष कटवाल २०८० माघ १७ गते अमेरिका गएपछि नफर्किएको र उक्त पद रिक्त गर्नुपर्ने माग राख्दै बुधबार ताला लगाइएको आन्दोलनरत पक्षका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । ‘आज गाउँपालिका अध्यक्ष रविप्रकाश राईसँग फोनमा वार्ता भयो,’ भट्टराईले भने, ‘वडाध्यक्षको पद रिक्त गर्ने सहमतिपछि ताला खुलाइएको हो ।’
बिहीबार भएको गाउँपालिका उपाध्यक्ष विर्सिका राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत शर्मिला राई र आन्दोलनरत पक्षबीच बिहीबार तीन घण्टासम्म भएको वार्ता निष्कर्षविहीन भएपछि गाउँपालिका अध्यक्षसँग फोनमा कुराकानी गरेपछि सहमति पुगिएको भट्टराईले बताए ।