मंसिर ६, २०८१
काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्यमा समस्या भई मृत्यु भएका ३८ वर्षीय सरोज सुब्बा (लिम्बु)को शव आफन्तले बुझेका छन् ।
लिम्बुका बहिनी ज्वाईं कुमार राईले शव बुझेर इलाम घर नै लैजान लगिएको अनलाइनखबरलाई जानकारी दिए।
‘जे हुनु भयो । अब कति दिन अस्पतालमा आन्दोलन गरेर बस्ने?,’ राईले अनलाइनखबरसँग भने, ‘ठूला मान्छेसँग हामी लड्न नसक्ने भइयो । आफ्नो परम्परा अनुसार शवको अन्त्येष्टि गर्छौं ।’
लिम्बुका आफन्तले भने चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका थिए ।
प्रत्यारोपण गर्दा संलग्न भएका मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले पनि मृतकका आफन्तले शव बुझेको पुष्टि गरे ।
‘उपचारको क्रममा कुनै त्रुटि थिएन । कसैको भड्काउमा आफन्तहरू लाग्नु भएको थियो,’ डा. काफ्लेले भने, ‘हामीले आफन्तलाई परामर्श गरेर नै सबै उपचार प्रक्रिया अगाडी बढाएका थियौं ।’
६ असोजमा प्रत्यारोपण भएका लिम्बुको केही हप्तामा मिर्गौला जोड्ने नली फुटेको थियो । त्यसपछि चिकित्सकले प्रत्यारोपण गरेको मिर्गौलालाई निकालेका थिए । तर पछि स्वास्थ्य समस्या भई संक्रमण पेटभरी फैलिएको थियो । मेडिसिटी अस्पतालमा थप उपचारको क्रममा मंसिर १ मा लिम्बुको मृत्यु भएको थियो ।