मंसिर १३, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी आरोपमा प्रहरीले हिरासतमा राखेको बुधबार ४० दिन पुगेको छ । ३ कात्तिकदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेको तजबिजमा पार्टी सञ्चालन भइरहेको छ । पार्टीले लिनुपर्ने हरेक निर्णयमा नेताहरू परामर्श लिन पोखरा पुग्छन् । पोखरा धाउनेहरूको अग्रपङ्तिमा उपसभापति डीपी अर्याल छन् ।
मंसिर ८ गतेबाट दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिले त्यसको दुई दिनअघि मंगलबार र बुधबार केन्द्रीय समितिको बैठक राखेको थियो । बैठकमा नेताहरूकै विचार बाझिएपछि गत बुधबार उपसभापति डिपी अर्याल र प्रमुख सचेतक सन्तोष परियार सभापति रवि लामिछानेलाई भेट्न पोखरा आए ।
केन्द्रीय समितिमा उठेका विषय र अबको आन्दोलनबारे उनीहरू सभापति लामिछानेसँग छलफल गरेर काठमाडौं फर्के ।
बैठकमा सडकमा आन्दोलन र प्रदर्शन गरेर जाँदा नकरात्मक सन्देश पनि जान थालेको बारे केन्द्रीय सदस्यहरूले कुरा उठाएको उपसभापति अर्यालले रविलाई बताए । उपसभापति अर्यालले उपनिर्वाचनका उम्मेदवारका सन्दर्भमा पनि रविसँग छलफल गरे र काठमाडौं फर्के ।
गत बुधबारै बसेको केन्द्रीय समितिको बैठकले सडकमा आन्दोलन र प्रदर्शन गर्नबाट पछि हट्ने र ध्यान उपनिर्वाचनमा लगाउने निष्कर्ष निकाल्यो । पार्टी सभापतिसँग परामर्श गरेपछि रास्वपाले सडक प्रदर्शन नगर्ने निर्णय लिएको थियो । जुन कुराको पुष्टि सभापति रविले गत सोमबार पार्टीमार्फत प्रसारित गरेको सन्देशबाट जानकारी गराएका छन् ।
सन्देशमा भनिएको छ, ‘म चाहिँ नागरिकले दुःख नपाऊन् भनेर शान्तिपूर्ण ढंगले गरिएको आन्दोलन समेत नगर्नु भन्ने अनि मेराविरुद्ध सिंगो राज्य र केही मिडिया सुनियोजित भएर लागिरहने?’
सडक आन्दोलनले पार्टी सभापतिको पक्षमा माहोला बनाउन नसकेको र पार्टीभित्रको द्विविधा विवादको तहमा विकास हुन थालेको बारे हिरासतमा रहेका रविलाई नेताहरूले ब्रिफिङ गरेको रास्वपा स्रोतको दाबी छ ।
राजनीतिक प्रतिशोध साँधेर रविलाई पक्राउ गरिएको भन्दै सडक आन्दोलन तथा प्रदर्शन गरेर जनतालाई भन्नुभन्दा उपनिर्वाचनमा गाउँ र घरघरै पुगेर यसबारे बुझाउन नेता, कार्यकर्तालाई परिचालन गर्न रविले निर्देशन दिएका थिए ।
कात्तिक २७ गते उपसभापतिद्वय डिपी अर्याल, स्वर्णिम वाग्ले र कार्यवाहक प्रवक्ता मनिष झालगायतले रविलाई भेटेका थिए । करिब आधा घन्टा रविसँग भेटघाट र छलफल गरेका दुई उपसभापतिले पार्टी सञ्चालन बारे पनि छलफल गरेका थिए ।
कास्की प्रहरी स्रोतका अनुसार पक्राउको सुरुवाती समय भेट्न आउनेहरूको लाइन नै हुन्थ्यो । ‘सुरुका दिनहरूमा भेट्न आउनेहरूको लाइन नै हुन्थ्यो । अहिले भने दैनिक औसतमा ८–१० जना पार्टीका नेता कार्यकर्ता भेट्न आउँछन्,’ प्रहरी स्रोतले भन्यो । यो संख्या कानुन व्यवसायी बाहेक हो ।
रविलाई सुप्रिम सहकारी ठगी प्रकरणमा पनि पक्राउ पुर्जी जारी भएर बुटवल लैजाने तयारी भइरहेका बेला उपसभापतिद्वयले भेटेका थिए । त्योबेला रविले जनतालाई बुझाउने, आन्दोलनमा सहभागी गराउने गरी सशक्त र रचनात्मक आन्दोलनको तरिका खोज्न पनि भनेका थिए । रविलाई भेटेर फर्किएपछि दोस्रो वरीयताका नेताहरूले राजनीतिक प्रतिशोधको विरुद्धमा दोस्रो चरणको आन्दोलनमा जाने बताएका थिए ।
रविले आफू हिरासतमा परे पनि पार्टी चलाउन कार्यवाहक सभापति नदिएको र अर्याल–वाग्लेबीच कसले कार्यवाहक सभापति पाउँछ भन्ने चर्चा भइरहेका बेला उनीहरूले रविलाई भेटेका थिए । त्यसको ठिक दुई दिनअगाडि कात्तिक २५ गते पोखराको मानव अधिकार चोकमा उभिएर अर्यालले जेलमै भए पनि जिउँदो रहँदासम्म रास्वपा सभापति रवि नै भएको बताएका थिए ।
‘म यसै मञ्चबाट भन्न चाहन्छु, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने जिउँदो रहेसम्म रवि लामिछाने नै हो । यसमा कसले कार्यवाहक सभापति पाउँछ, पाउँदैन गौण कुरा हो,’ अर्यालले बताएका थिए । अर्यालले भने झैं अहिले पनि रविले कार्यवाहक कसैलाई दिएका छैनन् र पार्टी सञ्चालन रविले हिरासतबाटै गर्दै आएका छन् ।
रविकै निर्देशनअनुसार गत मंगलबार र बुधबार भएको केन्द्रीय समितिको बैठकको अध्यक्षता अर्यालले गरे । तर, पार्टी सभापतिको अनुपस्थितिमा रास्वपाभित्र दुई समूह देखिएको छ । यस्तोमा, रास्वपाका निर्णयहरूमा हिरासतबाटै रविले सहभागिता जनाउँदै आइरहेका छन् । पार्टीले कुनै महत्वपूर्ण निर्णय लिनुपर्ने अवस्था आउँदा अर्यालले काठमाडौंबाट कास्की हिरासतमा आएर भेट्ने गरेका छन् ।
रवि पत्नी निकितापछि रविलाई सबैभन्दा बढी हिरासतमा भेट्न पुग्ने पनि अर्याल नै छन् । रविलाई भेट्न प्रत्येक हप्तामा २÷४ पटक अर्याल पुग्ने गरेका छन् । अर्यालपछि रविलाई धेरै भेट्न जानेमा कार्यवाहक प्रवक्ता मनिषसमेत रहेको प्रहरीको भनाइ छ ।
संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले ७ मंसिरमा सभापति रविलाई हिरासतमा पुगेर भेटेका थिए । सभापति रविले राज्यले आफूप्रति गरेको व्यवहार जनताले बुझेको विराजभक्तसँग बताएका थिए ।
गत शुक्रबारको भेटपछि सभापतिको बोली उद्धृत गर्दै विराजभक्तले भने, ‘अब त मैले केही भन्नै परेन । पहिले त मैले बोल्नुपरेको थियो । अहिले राज्यले के गरेको छ । जनताले आफैं बुझेका छन् ।’
सह–कोषाध्यक्ष दीपक बोहरा यसबीच अधिकांश समय पोखरामा रहे । रविलाई काठमाडौं ल्याउने तयारी भएसँगै उनले सोमबार पोखरा छाडेका थिए । कार्यवाहक प्रवक्ता झाले मंगलबारको पत्रकार सम्मेलनमा आफ्नो पदीय भूमिका अनुसार सभापतिसँग नियमित फोन सम्पर्क गर्नुपरेको जानकारी गराए ।
बेला–बेलामा रविले हिरासतको ल्याण्डलाइन फोनबाट पनि कुराकानी गर्ने तर ठ्याक्कै यति समय कुराकानी गरेको भनी यकिन नभएको प्रहरी स्रोतले जानकारी गराएको छ ।
पछिल्लो पटक रविलाई थप १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप हुने दिन यही आइतबार पनि अर्यालले भेट गरेका थिए । पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी गतिविधि र उपनिर्वाचनका उम्मेदवार बारे अर्यालले रविसँग छलफल गरेका थिए ।
रविले सबै ध्यान उपनिर्वाचनमा लगाएर राजनीतिक प्रतिशोधका कारण थुनिएको बुझाउन र आफ्ना उम्मेदवारलाई जिताएर रास्वपाप्रतिको जनताको आकर्षण पुष्टि गर्न निर्देशन दिएका छन् ।
पार्टीको नियमित कार्यक्रममा ध्यान दिन सभापति रविले निर्देशन दिएको उपसभापति अर्यालले अनलाइनखबरसँग बताए । ‘अहिले भइरहेको चुनावी प्रचार–प्रसारमा यो राजनीतिक प्रतिशोध हो भन्ने कुरा गाउँघरमा, चुनाव भएका क्षेत्रहरूमा जाऔं जनतालाई बुझाउँ भन्ने कुरा भएको थियो । सरकारको पनि त्यो खालको गतिविधि देखिएकै छ,’ अर्यालले भने ।
अर्याल आफैंले सभापति रविकै सुझाव र सल्लाहमा पार्टीको निर्णय भइरहेको पुष्टि गरे । ‘उहाँकै सुझाव र सल्लाहमा निर्णय भइरहेको छ । अहिले रास्वपामा जे भइरहेको छ, उहाँकै सल्लाहमा भएको हो,’ अर्यालले अनलाइनखबरसँगको कुराकानीमा भने, ‘आन्दोलनका विषयमा पनि सल्लाह भएकै हुन्छ, हाम्रो । केही निर्णय लिनुप¥यो भने मैले नै भेटिरहेको हुन्छु ।’
पार्टीले निर्णय लिनुपर्दा पहिले आफूहरू दुई जना उपसभापतिले छलफल गर्ने र त्यसले पनि पुगेन भने सभापति रविलाई भेट्न जाने अर्यालले बताए । ‘हामी दुई उपसभापतिले सल्लाह गर्छौं, त्यसले पनि पुगेन भने उहाँलाई भेट्न गइहाल्छौं नि,’ अर्यालको भनाइ थियो । पछिल्लो पटक उम्मेदवारका विषयमा पनि रविसँग छलफल भएको उपसभापति अर्यालले बताए ।
सबै ठाउँमा उम्मेदवार उठाउन नसकेको बारे पनि रविले चासो राखेको नेताहरूको भनाइ छ । उम्मेदवार नभएको ठाउँमा स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने र उम्मेदवार भएको ठाउँमा जसरी पनि जित दिलाएर रास्वपाको जनमत बढेको छ भनेर देखाउन रविले निर्देशन दिएको नेताहरूको भनाइ छ ।
सडक आन्दोलन र प्रदर्शनबाट पछि हटेर उपनिर्वाचनमा ध्यान दिन सर्कुलर गरेको रास्वपाले अहिले पोखरा केन्द्रित प्रदर्शन पनि स्थगित गरेको छ । रास्वपा गण्डकी सभापति राजन गौतमले पार्टीको ध्यान निर्वाचनमा लगाएको र गण्डकीमा गोरखा–२ मा ध्यान केन्द्रित गरिएको बताए ।
गत कात्तिक २ गते रविलाई काठमाडौं पार्टी कार्यालयबाटै पक्राउ गरी पोखरा ल्याइएको हो । रविलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि पाँचौं पटक म्याद थपिएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा रविलाई अनुसन्धान भइरहेको छ ।
रवि र परिवारको नाममा रहेको सम्पत्ति रोक्का गरेर अनुसन्धान गरिरहेको प्रहरीलाई सम्पत्ति शुद्धीकरणको मुद्दामा आइतबार थप अनुसन्धानका लागि १५ दिन म्याद थप भएको हो ।
रविविरुद्ध पोखरा, बुटवलसँगै काठमाडौं र चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ । पोखराको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी गठी प्रकरणमा उनलाई बयान गराउने क्रम चलिरहेको छ । यसैक्रममा रविलाई बयानका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ ।
सहकारी समस्याबारे छानबिन गर्न गठित विशेष संसदीय छानबि समितिले रविको संलग्नता देखाएका र सिफरिस गरेका सबै सहकारीमा उनीविरुद्ध जाहेरी दर्ता हुने र पक्राउ पुर्जी जारी क्रम चलिरहेको छ । सहकारीको ऋण तिर्न रवि आफैंले काटेका चेक पनि प्रहरीले बरामद गरेर अनुसन्धान गरिरहेको छ ।
सूर्यदर्शन सहकारीबाट ५ करोड ५८ लाख ९ हजार रुपैयाँ गोर्खा मिडियामा गएको देखिन्छ । जीबी राई नेतृत्वको देशभरका सहकारीबाट ६५ करोड प्रत्यक्ष रुपमा गोर्खा मिडिया नेटवर्कमा गएको समितिको प्रतिवेदनले देखाएको छ ।
संसदीय समितिको प्रतिवेदनले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्न रविको पनि संलग्नता देखिएको छ ।
समितिले गोर्खा मिडियामार्फत रकम अपचलन भएको भन्दै गितेन्द्रबाबु राई (जीबी), रवि, छविलाल र कुमार रम्तेललाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसमध्ये जीबी फरारै छन् भने रवि र छबिमाथि अनुसन्धान भइरहेको छ ।
झण्डै डेढ अर्ब अपचलन भएको सूर्यदर्शन सहकारीका कोषाध्यक्षसमेत रहेका कुमार रम्तेल भने पुर्पक्षका लागि कास्की कारागारमै थुनामा छन् ।
रविको परिवार र आफन्तसँगै रास्वपा नेताहरूलाई भेट्न समय दिने प्रहरीले नागरिकका लागि भने अन्य सेवा लिन पनि कठिन बनाइरहेको छ । रविलाई हिरासतमा राखेदेखि जाहेरी दिन वा अन्य सेवा लिन जाने नागरिकका मोबाइल गेटमै राख्ने गरेको छ भने पत्रकारलाई मोबाइलदेखि डायरी, कलमसम्म लैजान निषेध गरेको छ ।
रविका कारण प्रहरीको अन्य सूचना लिनसमेत सास्ती खेप्नुपरेको, प्रहरीले अपमानजनक व्यवहार गर्ने गरेको उनीहरूको गुनासो छ ।